सरकारले उपभोक्ता अदालत गठन गर्ने, यि हुन् मन्त्रिपरिषद्का पछिल्ला निर्णयहरु



काठमाडौं । माघ २१ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरू सार्वजनिक भएको छ । मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन् ।

मन्त्रिपरिषद्को बैठकले उपभोक्ता सरोकारसम्बन्धी मुद्दा हेर्ने उपभोक्ता अदालत गठन गर्ने निर्णय गरेको छ।सोमबारको मन्त्रिपरिषद् बैठकले काठमाडौँ, भक्तपुर र ललितपुरमा रहेका मुद्दाहरू हेर्ने गरी उपत्यकामा उपभोक्ता अदालत गठन गर्ने निर्णय गरेको हो।

१२ कार्तिकमा न्यायपरिषद्ले काठमाडौँ जिल्ला अदालतका न्यायाधीश रामप्रसाद शर्मालाई अध्यक्ष तोकेर उपभोक्ता अदालत गठनको सिफारिस गरेको थियो। उक्त अदालतको सदस्यमा सर्वोच्च अदालतका उपरजिष्ट्रार गेहेन्द्रराज रेग्मी रहनेछन्। उनी हाल विशेष अदालतमा छन्।

उपभोक्तालाई हानी पुगेको हकमा क्षतिपूर्तिका मुद्दा, उपभोक्ता संरक्षण ऐन बमोजिमका कसुरका मुद्दा र सरकारले तोकेका उपभोक्ता हित सरोकारका मुद्दासहित उपभोक्ता अदालतले हाललाई तीन प्रकृतिका मुद्दा हेर्नेछ

काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला अदालतमा विचाराधीन उपभोक्ता हित तथा सरोकारसँग सम्बन्धित मुद्दा पनि उपभोक्ता अदालतमा सर्नेछन्।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  ६ : ३० बजे