वर्षमान पुनले भने- संसद् छलेर ल्याएको अध्यादेश राष्ट्रिय सभाबाट फेल हुन्छ



धनगढी । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ ले उपमहासचिव पुनले सरकारले संसद् छलेर ल्याएको अध्यादेश राष्ट्रिय सभाबाट फेल हुने जिकिर गरका छन्।

प्रेस सेन्टर कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पुनले यस्तो दाबी गरेका हुन्।

अध्यादेशबाट शासन गर्न खोज्नु गलत भएको टिप्पणी गरेका उनले राष्ट्रिय सभामा आफूहरू सबैभन्दा ठूलो दल भएकाले अध्यादेश पारित हुन नसक्ने उल्लेख गरेका थिए।

‘राष्ट्रियसभामा नेकपा माओवादी केन्द्र सबैभन्दा ठूलो दल छ। एकीकृत समाजवादीले पनि विपक्षमा मत जाहेर गरेको छ। अरु साना दलले पनि साथ दिँदा अध्यादेश अस्वीकृत हुने अवस्था छ,’ पुनले भने।

आफ्नो दल ०८४ को निर्वाचनसम्म प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहने पनि उनको भनाइ थियो। कांग्रेस र एमालेजस्ता दुई ठूला दल मिलेर सरकार बनाएकोले आफूहरु प्रतिपक्षमै बस्ने उनले उल्लेख गरे। एमालेसँगको सहकार्यको सम्भावना समाप्त भएको पनि उनको भनाइ थियो।

‘हामीले वामपन्थी मिल्नुुपर्छ भनेर पार्टी एकता, गठबन्धन गरेका थियौँ। त्यो बिग्रिसकेपछि पनि कोर्स करेक्सन गर्न खोज्यौँ तर एमाले त्यो होइन रहेछ, २०८४ को निर्वाचनमा हामी एक्लै लड्छौँ। वामपन्थी ध्रुवीकरण सम्भव छैन,’ उनले भने, ‘ओलीजीले दुईपटक धोका दिइसक्नुुभएको छ। उहाँबाट तेस्रोपटक धोका खाने पक्षमा छैनौँ।’

माओवादीले आगामी निर्वाचन आफ्नै बुतामा लड्ने र कसैसँग पनि गठबन्धन नगर्ने दाबी गरेका थिए।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  १ : ५३ बजे