काठमाडौंँ । नेकपा ९माओवादी केन्द्र०ले पार्टीका नेताहरूको नयाँ कार्यविभाजनसहित अन्तरपार्टी निर्देशन ९अपानि० जारी गरेको छ।
माघ २१ गते बसेको पार्टीका पदाधिकारीहरूको बैठकले पार्टी पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मको नयाँ कार्यविभाजन गरेको हो।
आइतबार महासचिव देव गुरुङले जारी गरेको अपानिमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई वैचारिक राजनीतिक क्षेत्र संयोजक र स्कुल विभाग प्रमुखको जिम्मेवारी तोकिएको उल्लेख छ।
यस्तै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ अन्तर्राष्ट्रिय विभाग प्रमुख र उपाध्यक्ष पम्फा भुसाल र सचिव सुरेन्द्र कार्कीलाई उपप्रमुखको जिम्मेवारी तोकिएको छ।
यस्तै उपमहासचिव जनार्दन शमालाई संगठन विभाग प्रमुख र उपमहासचिव वर्षमान पुनलाई अर्थ तथा योजना विभाग प्रमुखको जिम्मेवारी तोकिएको छ।
अर्का उपमहासचिव शक्तिबहादुर बस्नेतलाई प्राकृतिक स्रोत, व्यवस्थापन क्षेत्र संयोजक, सचिव लीलामणि पोखरेललाई ऊर्जा, जलस्रोत सिँचाई विभाग प्रमुख र केन्द्रीय सदस्य युवराज दुलाललाई उपप्रमुखको जिम्मेवारी तोकिएको छ।
पूर्वउपरराष्ट्रपति नन्दबहादुर पुनलाई माओवादी केन्द्रको आर्थिक उत्पादन संयन्त्र इन्चार्जको जिम्मेवारीमा राखिएको छ।
तेस्तै माओवादी केन्द्रले फागुन १२ गतेदेखि तराई मधेस जागरण अभियान सञ्चालन गर्ने भएको छ । जनतासँग माओवादी अभियान कार्यक्रमअनुसार सो कार्यक्रम गर्ने तय भएको माओवादीले जनाएको छ ।