काठमाडौं । राप्रपा सांसद ज्ञानेन्द्र शाहीले पदीय दायित्वलाई भुलेर दिएको अराजक अभिव्यक्तिप्रति राष्ट्रिय सभाले खेद प्रस्ताव पारित गरेको छ ।
आज बसेको बैठकले प्रतिनिधिसभाका सांसद ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जालमा ‘राष्ट्रियसभा वृद्धाश्रम हो’ भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै खेद प्रस्ताव पारित गरेको हो ।
आजको बैठकको शून्य समयमा सांसद नारायणदत्त मिश्र, जयन्तीदेवी राई, सांसद जगतबहादुर पार्कीलगायतले सांसद शाहीको अभिव्यक्तिमाथि आपत्ति जनाएका थिए । सांसदले आपत्ति जनाएपछि खेद प्रस्ताव पारित गर्दै आगामी दिनमा आफ्नो अभिव्यक्ति दिनुअघि विचार पुर्याउन निर्देशन दिईएको छ ।
पारित खेद प्रस्तावमा भनिएको छ, ‘पारित भएको विधेयकको सम्बन्धमा यथार्थ अवस्था अध्ययन नै नगरी निज माननीय सदस्यले कपोकल्पित, झुठ र यथार्थ भन्दा बाहिर गई एक सभाको सदस्यले अर्को सभाको कामकारबाही र सभाका माननीय सदस्यहरूको योग्यता, क्षमता र उमेरको सम्बन्धमा समेत अत्यन्त गैरजिम्मेवारपूर्ण ढङ्गले आफ्नो धारणा व्यक्त गर्नुभएको देखिएकोले उक्त अभिव्यक्तिप्रति यो सभा खेद प्रकट गर्दछ । आइन्दा आफ्ना विचार सम्प्रेषण गर्दा सुझबुझपूर्ण, वस्तुनिष्ठ र तथ्यपरक हुन निज माननीय सदस्यलाई यो सभा निर्देशनसमेत दिन्छ ।’














