काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रिय सम्झौता हस्ताक्षर नगर्ने भएका छन्।
सामाजिक संजाल फेसबुकमार्फत सन्दीपले केन्द्रिय सम्झौतालाई निरन्तरता नदिने निर्णय घोषणा गरेका हुन्। उनले क्रिकेट र राष्ट्रबाट टाढिएको नभएर व्यक्तिगत र व्यावसायिक रुपमा अघि बढ्न यो कदम चालेको बताएका छन्। उनले क्यानलाई निरन्तर साथका लागि धन्यवाद समेत व्यक्त गरेका छन्। सन्दीपले आफू नेपालबाट भने निरन्तर खेल्ने प्रष्ट पारेका छन्।
नेपाल क्रिकेट संघ ९क्यान० का प्रवक्ता छुम्बी लामाले सन्दीपको निर्णयबारे छलफलपछि मात्र निर्णय लिने बताए।
केन्द्रिय सम्झौता नगर्दा क्यानको नियम मान्ने वा नमान्ने भन्ने प्रष्ट हुँदैन।
यस अघि सन्दीप अन्तर्राष्ट्रिय क्रिकेटको निलम्बनबाट फर्कंदा पनि केन्द्रिय सम्झौता बेगर नै अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए। त्यस्तै नयाँ खेलाडीले पनि सम्झौता नहुँदा खेलेको उदाहरण छ।
सन्दीप आज नै स्कटल्याण्ड भ्रमण गर्ने टोलीमा भने समावेश छन्। आज विहान मात्र क्यानको केन्द्रिय कार्यालयमा आयोजित बिदाइ कार्यक्रममा सन्दीप उपस्थित थिए।














