काठमाडौँ । सोमबार सिंहदरबारमा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको तर्फबाट आयोजना गरिएका कार्यक्रममा बोलाउँदा पनि सहभागी नहुनेहरुलाई अर्को पटकदेखि नबोलाउन निर्देशन दिएका छन्।
उनले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहप्रति लक्षित गर्दै सधैँ कार्यक्रममा बोलाइरहनुपर्ने तर कहिल्यै नआउने गरेको टिप्पणी गरे।
प्रधानमन्त्रीले भने, ‘कहिले पनि नआउने, नाम राखिरहनुपर्ने। मानका खातिर मानको चलन चाहिँ छोड्दा पनि हुन्छ कि क्यो हो कोही कोही मान्छे हरेक फंग्सनमा राख्ने गर्दछौँ। कहिल्यै देखा पर्दैन। त्यस्तो खालको मान्छे खोज्यो भने भेटिन्छन् कि जस्तो लाग्छ। कहिले पनि नआउने, नाम सधैं टाँस्नुपर्ने, कुनै अर्थ छैन, महत्व नै छैन, अर्थ नै छैन भने सधैं नाम झुन्ड्याइरहने नगरे पनि हुन्छ। आउनुपर्ने नआइदिने, बोलाउने सधैं बोलाइराख्नुपर्ने। यस्तो हुँदैन। अर्को पल्टसम्ममा सोधीखोजी गर्नुहोला। हेर्नुहोला रेकर्ड को एक पटक पनि आउँदैन। त्यो रेकर्ड हेरेर आउने हो कि होइन सोधेर आउने नभए नाम नराख्नु होला। हरेक पटक इतिहास बनिरहने, नाम छापिरहनुपर्ने, मान्छे नआउने।’
कुनै अर्थ र महत्व नै नबुझ्नेहरूको नाम सधैं झुन्ड्याइरहने काम राम्रो नभएको बताए।









