देशभर बाढी पहिरोको जोखिम,कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?



काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर आंशिक तथा साधारण बदली रहने आकलन गरेको छ। महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै उच्चपहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ।

त्यसैगरी आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थान तथा अन्य प्रदेशका केही भागका मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। देशका उच्चपहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ।

सम्भावित वर्षाका कारण बाढीपहिरो तथा गेग्य्रान बहावको जोखिम रहेको बताउँदै महाशाखाले सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेकाले सावधान रहन ती क्षेत्रका सर्वसाधारणलाई अनुरोध गरेको छ।

ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन तथा पूर्वतयारी गर्न सर्वसाधारण तथा सरोकार भएका सबै निकायमा अनुरोध गरिएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार २४ घण्टामा १० मिलिमिटरभन्दा कम पानी परेमा यसलाई ‘हल्का वर्षा’ भनिन्छ। १० मिलिमिटरदेखि ५० मिलिमिटरसम्म वर्षा भए त्यसलाई ‘मध्यम वर्षा’ भनिन्छ।

यसैगरी ५० मिलिमिटरदेखि १०० मिलिमिटरसम्मको वर्षालाई ‘भारी वर्षा’ भनिन्छ। १०० मिलिमिटरदेखि २०० सय मिलिमिटरसम्म वर्षा भएमा ‘धेरै भारी वर्षा’ भन्ने गरिएको छ। २४ घण्टमा २०० मिलिमिटरभन्दा बढी वर्षा भएमा त्यसलाई ‘अतिभारी वर्षा’ भनिन्छ। आकाशबाट परेको वर्षाको पानीलाई मिलिमिटरमा नापिन्छ।

प्रकाशित मिति : असार २५, २०८२ बुधबार  ९ : २५ बजे