अनुशासनको कारबाही कुनै हिसाबले पनि ठिक छैन : महामन्त्री थापा



काठमाडौं, ३० असार । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टीभित्र भएको अनुशासनको कारबाही सबै हिसाबले गलत रहेको बताएका छन् ।

नेपाली कांग्रेसको बुद्धिजिवी विभागले सोमबार आयोजना गरेको विपद् व्यवस्थापन : चूनौति, अवसर र भावी कार्यदिशा विषयक अन्तरक्रियामा बोल्दै थापाले अनुशासनको कारबाही समय, पार्टीको परम्परा, कानुन र विधानको हिसाबले गलत रहेको बताए ।

‘पार्टीभित्र कोत पर्वजस्तै अनुशासन पर्व चल्यो । न यो समयको हिसाबले ठिक भयो, न यो पार्टीको परम्पराको हिसाबले ठीक छ । न पार्टीको कानुनको हिसाबले ठीक छ । न पार्टीको विधानको हिसाबले ठीक छ । यो खालको कामले पार्टीलाई थप कमजोर बनाउँछ,’– उनले भने ।

कार्यक्रममा महामन्त्री थापाले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई तत्काल बर्खास्त गर्न माग गरे ।

उनले आफूले गल्ती गरेको होइन भन्ने आँटसमेत मन्त्री गुप्तामा नदेखिएको भन्दै तत्काल बर्खास्त गरी निष्पक्ष छानबिनको बाटो सहज बनाउन प्रधानमन्त्रीसमक्ष आग्रह गरे ।

प्रकाशित मिति : असार ३०, २०८२ सोमबार  ७ : ५२ बजे