एमालेले भन्यो– विद्या भण्डारीको सदस्यता नवीकरण पेण्डिङमा छ



काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण ‘पेन्डिङ’ अवस्थामै रहेको नेकपा एमालेले जनाएको छ ।पार्टीको पोलिटब्युरो बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पार्टीको विधानको धारा ८ र ९ अनुसार भण्डारीको पार्टी सदस्यता नवीकरण पेण्डिङमा रहेको बताए।

उनले भने, “उहाँको सदस्यता पेन्डिङमा छ अर्थात् जहाँ जस्तो अवस्थामा छ स्थगन अवस्थामा छ ।यो राजनीतिक विषयको कुरा हो । पूर्वराष्ट्रपतिलाई कानुनी अड्चन खडा गरेर पार्टी प्रवेश गर्न दिइँदै छैन भन्ने अफवाहमात्रै हो । उहाँलाई दिएको गौरवको अस्तित्व के हुने भन्नेमात्रै विषय हो । यो कुनै व्यक्ति विशेषको कुरा भएन । यो गणतन्त्रसँग जोडिएको विषय पनि हो ।”

बैठकमा भण्डारीको सदस्यता नवीकरण कि पुनः लिनुपर्ने भन्ने विषय गम्भीररुपमा उठेको हुनाले अझ ठूलो फोरममा छलफल गर्ने निष्कर्ष निकालिएको उनले बताए ।

पोलिट्ब्युरो बैठकले उमेर हदको व्यवस्था खारेज गरेको छ भने दुई कार्यकाल भन्दा बढी हुन नपाइने बुँदालाई पनि खारेज गरिदिएको छ ।

प्रकाशित मिति : श्रावण ३, २०८२ शनिबार  ८ : ३६ बजे