विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेकपा (एमाले) र नेपाली कांग्रेस गठबन्धनको सरकार अपेक्षित रूपमा चल्न नसकेको बताएका छन्।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले वर्तमान सरकारले जनताका अपेक्षाअनुसार काम गर्न नसकेको बताए।
कोइरालाले भने ,‘हामी राजनीति गर्दैछौं । हामीहरूले विभिन्न भेट गरिरहनुपर्छ । म प्रतिप्रश्न गर्छु नेपाली कांग्रेस र माओवादी जब सरकारमा थियो त्यतिबेला मैले ओलीजीलाई भेटिरहेको थिएँ,’। ,‘त्यतिबेला कहिल्यै प्रश्न गर्नुभएन । त्यतिबेला पनि छलफल गरेको हो । त्यस्तै छलफल अहिले पनि राजनीतिक दल र नेताहरूबीच भएको हो । लुकेर कसैले भेट गर्छन् होला तर म त्यसमा विश्वास गर्दिनँ ।’
पूर्वराष्ट्रपति विद्या भण्डारीसँग हालैको भेटका बारेमा प्रश्न उठ्दा उनले भण्डारीलाई राष्ट्रपति हुँदा पनि भेटेको र अहिले पनि भेट्नु अस्वाभाविक नभएको बताए । तर, अहिलेको भेटलाई अनावश्यक रूपमा बढी तौल दिइएको भन्दै आपत्ति जनाए ।
विराटनगर विमानस्थलमा बुधबार पत्रकारहरूसँगको कुराकानीमा नेता कोइरालाले यो सरकार २०८४ सालसम्म जानुपर्नेमा जोड दिँदै सरकार राम्ररी चल्न नसकेको गुनासो गरे।









