काठमाडौँ ।नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन्।
प्रदेशसभा सचिवालय परिसरमा बुधवार भएको दलको निर्वाचनमा बानियाँले मख्यमन्त्रीसमेत रहेका बहादुर सिंह लामा तामाङलाई पराजित गरेका हुन। बानियाँ र लामा दुवै पार्टी सभापति शरबहादुर देउवा पक्षका हुन।
कांग्रेसका ३७ सांसदमध्ये बानियाँले २२ मत पाउँदा लामाले १४ मत मात्रै ल्याए। १ मत बदर भएको छ।
मंगलबार आफूविरूद्ध संसदीय दलमा परेको अविश्वासको प्रस्तावको विपक्षमा १५ मत मात्रै आएपछि उनले दल नेताको हैसियत गुमाएका थिए। अविश्वासको प्रस्तावको पक्षमा २२ मत परेको थियो ।
लामाले दलको नेताको हैसियत गुमाएपछि आज दलको नेता चयनका लागि निर्वाचन भएको हो। बानियाँको नेतृत्वमा कांग्रेसका २१ जना सांसदले ९ साउनमा दल कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए।
लामा नेतृत्व सरकारका पाँच जना मन्त्रीले राजीनामा दिएर बानियाँलाई साथ दिएका थिए।














