काठमाडौँ । नेकपा एमाले र नेपाली कांग्रेसबीचको बैठक विवादित मन्त्री फेर्ने विषयमा प्रवेश नै नगरी सकिएको छ।
प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरुबीचको कुराकानी घुस डिलमा मुछिएका मन्त्रीका विषयमा प्रवेश नै नगरी सकिएको हो।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको कुराकानी सरकारका कामकारवाही, विभिन्न विधेयकलगायतका विषयमा छलफल भएको नेताहरुले जनाएका छन्।
त्यस्तै बागमती प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेताका विषयमा निस्किएको किचलोबारे पनि छलफल भएको बुझिएको छ।
बैठकमा मन्त्री हेरफेरको एजेन्डा नै नभएकाले मन्त्रिपरिषद् हेरफेरबारे छलफल नभएको प्रधानमन्त्री निकट स्रोतको जिकिर छ।
विधेयकबारे छलफल गर्नुपर्ने भएकाले नै महान्यायाधिवक्ता समेतलाई बोलाइएकोसमेत उक्त स्रोतले बताएको छ।
छलफलमा प्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओली, कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, एमालेका उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री एवं कांग्रेसका नेता रमेश लेखक, प्रधानमन्त्रीका मुख्य सल्लाहकार एवं एमालेका उपमहासचिव विष्णुप्रसाद रिमाललगायत सहभागी थिए।









