सप्तरी । सप्तरीमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा राजगड गाउँपालिका वडा नम्बर–२ निवासी लालु यादव छन्।
प्रहरीले चलाएको गोली यादवको तिघ्रामा गोली लागेको प्रहरीको दाबी छ। उनलाई उपचारको लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो।
मदिरा भण्डारण गरिएको ठाउँमा सर्च अप्रेसन चलाउँदा तस्करसँग झडप भएको प्रहरीको भनाइ छ। भिडन्त भएपछि प्रहरीले गोली चलाउँदा यादवको मृत्यु भएको मधेस प्रदेश प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीले बताए।
प्रहरीले खानतलासी गर्न खोज्दा प्रहरीमाथि आक्रमण भएपछि गोली चलाउनु परेको चतुर्वेदीको भनाइ छ। प्रहरीले ७ राउन्ड गोली चलाएको थियो।
सीमाापरिबाट अवैध रूपमा मदिरा भित्र्याएको सूचनाका आधारमा प्रहरी अप्रेसनका लागि उक्त ठाउँ पुगेको थियो। उक्त स्थानबाट प्रहरीले विभिन्न ब्रान्डको ८० कार्टुन रक्सी बरामद गरेको छ।














