काठमाडौं । नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले भारतमाथि हुने आतंकवादी आक्रमण नेपालका लागि सह्य नहुने बताएका छन् ।काठमाडौंमा आईतवार आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले नेपाल कुनैपनि देशमाथि हुने आतंकवादी आक्रमणको विपक्षमा रहने बताए । रिजालले नेपालको भूमि आतंकवादी गतिविधिका लागि कहिल्यै पनि प्रयोग गर्न नदिइने स्पष्ट पार्दै नेपालले छिमेकी देश चीनसँग पनि एक चीन नीतिमा स्पष्ट रहेको बताए। उनले नेपालका केही सरकारले एक चीन नीतिबाट एक चीन सिद्धान्तकै रुपमा अघि बढाएको बताए ।
उनले भने ‘कुनैपनि बहानामा भारतमाथि हुने आतंकवादी आक्रमण, भारतमात्रै होइन अन्य देशहरुमाथि पनि हुने आतंकवादी आक्रमण नेपालका लागि सह्य हुँदैन । नेपालको भूमि आतंकवादका लागि प्रयोग गर्न दिइँदैन । आतंकवादी गतिविधिका लागि हामी नेपालको कुनैपनि भूमि प्रयोग हुन दिँदैनौँ । अरु गतिविधिका लागि पनि हामी नेपाली भूमि प्रयोग हुन दिँदैनौँ । एक चीन नीति…। अहिले त कुनै कुनै सरकारले त एक चीन सिद्धान्त नै भनेका छन् । नीतिबाट पनि बुरुक्कै उफ्रिएर । कुनैपनि मित्रराष्ट्रको अहितका लागि भूमिका प्रयोग हुन दिँदैनौँ ।’
नेता रिजालले नेपालको हित चाहने कुनैपनि नेपालीले भारतसँगको सम्बन्धमा कुनैपनि सानो दरार आउने गरी कुनै सम्बन्ध राख्न नसक्ने जिकिर गरे । नेपाल र भारतको सम्बन्धको मूल्यमा कसैसँग पनि केही सम्बन्ध नहुन ेउनले बताए । —न्युज एजेन्सी नेपाल









