दुर्गममा काज खटाउँदा जान नमान्ने कर्मचारीको नाम सार्वजनिक गर्छौंः मन्त्री न्यौपाने



काठमाडौं । mसंघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले लामो समयदेखि दुर्गममा रहेर सेवा गरिरहेका कर्मचारीलाई सुगममा ल्याउने गरी मन्त्रालयले काम गरिरहेको बताएकि छन् । मन्त्रालय सम्हालेको एक महिना पुगेको अवसरमा सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री न्यौपानले यस्तो बताएकि हुन् ।

उनले लामो समयदेखि सुगममा बस्ने तर दुर्गममा जान नमान्नेहरुको नाम संकलन भइरहेको र उनीहरुको नाम सञ्चारमाध्यमलाई उपलब्ध गराउने बताइन् ।

उनले प्रमुख प्रशासकीय अधिकृतको काम धेरै स्थानमा निमित्तले गरिरहेको भन्दै अब भदौ महिनाभित्रमा सबै ठाउँमा प्रमुख प्रशासकीय अधिकृतले काम गर्नेगरी व्यवस्था मिलाइएको बताइन् । दुर्गममा जान नमान्ने कर्मचारीहरुको आर्थिक अधिकार कटौति गरेर पनि मन्त्रालयले कारबाही गरिरहेको उनले बताइन् ।

मन्त्री न्यौपानेले भनिन्, ‘सरुवामा खासगरी कोही सधैँ दुर्गममा मात्रै बसिरहने र सुगममा मात्रै कोही बसिरहने, कोही धेरै वर्षदेखि भ्याली नछोड्ने, कोही धेरै वर्षदेखि दुर्गममा बसिरहने स्थिति पनि छ । प्रमुख प्रशासकीय अधिकृत धेरै ठाउँमा निमित्तले चलाइरहनुभएको अवस्था पनि छ । मेरो सबैभन्दा बढी चासो त्यहीँ हो । निमित्तले प्रमुख प्रशासकीय अधिकृत भएर काम चलाएको छ, यसलाई जिरोमा झार्नुपर्छ भनेर गृहकार्य शुरु गरेका छौँ । नमानेपछि हामीले आर्थिक अधिकार कटौति गर्नेसम्मका कामहरु ग¥यौँ । स्ट्रिकली लागू गर्न हामीले काम शुरु गरेका छौँ । राष्ट्रसेवक कर्मचारीहरु कुनै काम नै नगरी सेवामा समर्पित नभइकन तलव लिने खालको स्थिति बन्नुहुँदैन । त्यसका निम्ति कर्मचारी सबै खट्नुपर्छ । सबै सेवामा समर्पित हुनुपर्छ । त्यो संख्याको विवरण संकलन गर्दैछौँ । जो धेरै समयदेखि दुर्गममा हुनुहुन्छ, उहाँहरुलाई न्याय गर्ने र जो धेरै समयदेखि भ्यालिभित्र बसिरहनुभएको छ, उहाँहरुलाई अन्यत्र पठाउनेछौँ ।’

प्रकाशित मिति : भाद्र १, २०८२ आईतबार  ६ : ५९ बजे