सहकारीका समस्या समाधान गर्न अझै डेढ वर्ष लाग्छ : मन्त्री अधिकारी



काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीले डेढ वर्षभित्रमा सहकारीमा देखिएका समस्याहरु हल गर्ने बताएका छन् ।मन्त्रालयमा सोमवार आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

सहकारीहरुलाई व्यवस्थित रुपले परिचालन गर्नको लागि हाल सहकारी विभाग सक्रिय रुपले लागेको उनले जानकारी दिए । विभागले विभिन्न निर्देशन गर्ने, हिनामिना गर्नेहरुको सम्पती रोक्का राख्ने लगायतका काम गरिरहेको उनले बताए। सहकारसँग आवद्ध दुई वटा केन्द्रिय निकायहरु नेपाल वचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) र राष्ट्रिय सहकारी महासंघलाई पनि गाउँसम्म पुगेर सहकारीको डाटा संकलन गर्न आग्रह गरेको उनले जानकारी दिए । सहकारीहरुको वास्तविक तथ्याङ्क संकलन गरी बिग्रेको सहकारीहरुलाई नियमन गरेर जाने उनले दाबि गरे ।

उनले भने ‘सहकारीहरुलाई व्यवस्थित रुपले परिचालन गर्नको निम्ति अहिले विभाग पनि सक्रिय रुपले लागेको छ । विभिन्न निर्देशनहरु गरेको छ । हिनामिना गर्नेहरुका सम्पती रोक्का राखेको छ । अरु कहाँ के के छन्, खोजी गर्ने काम गरेको छ । सहकारीसँग आवद्ध दुई वटा केन्द्रिय तहका निकायहरु छन् । नेफ्स्कुन भन्छ एउटा वचत तथा ऋणको कारोबार गर्ने, अर्को सम्पूर्ण सहकारी हेर्ने राष्ट्रिय सहकारी महासंघ छ । उहाँहरुलाई पनि हामी तलसम्म गएर तपाईहरु गाउँतहसम्म पुगेर कुन सहकारी कस्ता छन्, त्यसको डाटा बनाएर ल्याउने र त्यसलाई त्यही किसिमको परिभाषित गरेर राम्रोलाई राम्रो छ भन्ने हिसावले सन्देश दिदैँ जाने र बिग्रेकोलाई त्यही हिसाबले नियमन गरेर त्यसलाई अगाडी बढाउने कुराहरुमा सक्रिय रुपमा लाग्नुस् भनेर भनेका छौँ । उहाँहरु पनि लाग्नुभएको छ । मलाई के विश्वास छ भने यहाँहरु सबैको सहयोग भयो भने हामी एक÷डेढ वर्षभित्रमा सहकारीले देखिएका समस्याहरु हल ग¥यौँ भन्ने सन्देश दिन सक्छौँ ।’

मन्त्री अधिकारीले हालसम्म समस्याग्रस्त सहकारीका ६ हजार ७ सय व्यक्तिहरुको रकम पुर्ण भुक्तानी गरिसकेको जानकारी दिए । ५६ हजार व्यक्तिहरुको आंशिक भुक्तानी गरेको र ४ हजारभन्दा बढीको हिसाव मिलान र नगद भुक्तानी गरिसकेको उनले बताए ।

प्रकाशित मिति : भाद्र २, २०८२ सोमबार  ५ : ५१ बजे