काठमाडौं । हरितालिका तिज पर्वमा भक्तजनको भीडलाई व्यवस्थित बनाउन पशुपति क्षेत्र विकास कोषले विशेष व्यवस्था गरिएको जनाएको छ ।कोषले आईतवार पत्रकार सम्मेलन गर्दै हरितालिका तिज पर्वमा पशुपति क्षेत्रमा विशेष व्यवस्था गरिएको बताएको हो
कोषका अनुसार, तिजको अवसरमा भदौ १० गते बिहान ३ बजेदेखि नै पशुपतिका चारवटै ढोका खुला गरिनेछ ।गुह्येश्वरी–गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तर ढोकाबाट मन्दिर प्रवेश गर्न सकिनेछ ।त्यस्तै, जयबागेश्वरी–भुवनेश्वरी–शंकराचार्य मठ हुँदै फलामे पुल–पश्चिम सानो ढोकाबाट मन्दिर प्रवेश गर्ने व्यवस्था मिलाइएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै कोषका सदस्यसचिव सुवासचन्द्र जोशीले उमाकुण्ड, दक्षिणामूर्ति, महास्नानघर पश्चिम, भूवनेश्वरी–गौशाला र वनकाली क्षेत्रको दर्शन मार्गमा कुनै पनि साधारण सवारी प्रवेश गर्न नपाउने व्यवस्था गरिएको जानकारी दिए ।
दमकल, एम्बुलेन्स र घाटसम्म पुग्ने शव वाहनलाई भने छुट दिइने कोषले उनले जानकारी दिए । जोशीले यस वर्ष लाखौं महिलाहरु पशुपति नाथको दर्शनका लागि आउने भएकाले आवश्यक सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र ट्राफिक प्रहरी परिचालन गरिनुका साथै भिड व्यवस्थापनका लागि स्वयंसेवक, स्काउट, रेडक्रसका टोलीहरु समेत खटाइने बताए ।
तीजको दिन भक्तजनलाई गुठीटोल, उमाकुण्ड, दक्षिणमुखी, रसगुलोचोक, वासुकी हुँदै उत्तर ढोकाबाट मन्दिर प्रवेश गराइने तथा दक्षिण ढोकाबाट बाहिरिने व्यवस्था मिलाइएको उनले जानकारि दिए । उनका अनुसार मृगस्थली–जयवागेश्वरी–पशुपति मार्ग हुँदै दक्षिणतर्फ प्रवेश गरी पश्चिमतर्फबाट निस्कने व्यवस्थासमेत गरिएको छ ।
ज्येष्ठ नागरिक, अशक्त, बालबालिका र अपांगता भएका महिलालाई प्राथमिकतामा राखी सहजीकरण कोषको योजना रहेको जोशीले बताए। न्युज एजेन्सी नेपाल









