काठमाडौं ।स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मुलुकभर छरिएर रहेका स्वास्थ्य सेवाहरु एकीकृत गर्न जरुरी रहेको बताएका छन् ।
प्रतिनिधि सभाको बिहीवारको बैठकमा सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै मन्त्री पौडेलले यस्तो बताएका हून् ।
संघ, प्रदेश र स्थानीय तहबाट सञ्चालित सबै प्रकारका स्वास्थ्य सुविधासम्बन्धी कार्यक्रमलाई स्वास्थ्य बीमा बोर्डमा गाभ्न प्रश्ताव गरे ।
उनले स्वास्थ्यसम्बन्धी कार्यक्रमहरु छरिएका कारण नागरिकलाई सस्तो, सर्वसुलभ र विपन्न वर्गलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने सरकारको लक्ष्य पूरा हुन नसकेको उनको भनाइ छ ।
उनले स्वास्थ्य क्षेत्रमा धेरै ठूलो खर्च भएपनि त्यसअनुसारको परिणाम आउन नसकेको उनको भनाइ छ । स्वास्थ्य प्रणालीलाई एकीकृत गरेर प्रभावकारिता वृद्धि गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले स्वास्थ्य बीमा बोर्डलाई केन्द्रीय निकायका रूपमा विकास गर्नुपर्ने बताए ।
उनले पालिकादेखि संघसम्म सञ्चालित सबै स्वास्थ्य सेवा कार्यक्रम, सामाजिक सुरक्षा कोष र सञ्चय कोषबाट सञ्चालनमा रहेका स्वास्थ्य सुविधासमेत स्वास्थ्य बीमा बोर्डमा गाभ्न जरुरी रहेको बताए ।
उनले भने, ‘नागरिकलाई सस्तो, सर्वसुलभ र नसक्नेलाई निःशुल्क रुपमा उपचार गराउनका निम्ति सरकारले जतिपनि स्वास्थ्य उपचारका सुविधाहरु उपलब्ध गराएको छ । त्यसलाई एकीकृत गर्न जरुरी छ । विभिन्न शीर्षकमा स्वास्थ्य सेवा उपलब्ध गराउने कुराले खर्च धेरै भएको छ । तर परिणाम त्यसअनुसार आउन सकेको छैन । त्यसैले जतिपनि स्वास्थ्य सेवाहरु उपलब्ध गराइएको छ । त्यो सम्पूर्ण सेवाहरुलाई एकीकृत ढंगबाट अगाडि बढाइदिनुपर्छ । पालिका तहबाट, प्रदेश तहबाट र संघीय तहबाट छुट्टाछुट्टै स्वास्थ्य सुविधाका निम्ति सञ्चालन गरिएका कार्यक्रमहरुलाई सम्पूर्ण रुपमा स्वास्थ्य बीमा बोर्डमा आवद्ध गरिनुपर्छ । सामाजिक सुरक्षा कोषबाट स्वास्थ्य सुविधा उपलब्ध गराउनका निम्ति जुन खर्च गरिएको छ । त्यो पनि स्वास्थ्य बीमा बोर्डमा गाभ्नुपर्छ । सञ्चय कोषमा जतिपनि स्वास्थ्य सुविधाका कार्यक्रमहरु छन् ति सबैलाई स्वास्थ्य बीमा बोर्डमा आवद्ध गरिनुपर्छ । त्यस्तो गर्न सकियो भने हामीले सस्तो, सर्वसुलभ र नसक्ने नागरिकलाई उपचार सेवा स्वास्थ्य बीमा बोर्डमार्फत उपलब्ध गराउन सक्छौं । हामीले यो प्रणालीलाई विकास गर्नको लागि बहस र छलफल गरिरहेका छौं ।’
उनले मुलुकमा काम गर्ने वातावरण निर्माण गर्न नसक्दा स्वास्थ्य क्षेत्रका जनशक्तिहरु पलायन भइरहेको भन्दै चिन्ता व्यक्त गरे। उनले सेवा सुविधाको अभाव तथा काम गर्ने वातावरण अभावका कारण स्वास्थ्यकर्मी विदेश पलायन भइरहेको उल्लेख गर्दै सरकारले यी समस्याहरुको समाधान हुनेगरी नीति ल्याउनुपर्नेमा जोड दिए । —न्युज एजेन्सी नेपाल














