काठमाडौं । आजदेखि सोह्र श्राद्ध सुरु भएको छ । आश्विन शुक्ल प्रतिपदासम्मका १६ तिथिमा दिवङ्गत पितृलाई तर्पण, सिदादान र पिण्डदान गरिन्छ । यसै अवसरमा काठमाडौंको पशुपतिनाथ, गोकर्ण लगायतका पवित्र स्थलमा सोह्र श्राद्ध गर्नेको भीड लाग्ने गर्दछ ।
श्राद्धको पहिलो दिन सोमबार बिहानैदेखि काठमाडौंको प्रमुख तीर्थस्थल पशुपतिनाथ क्षेत्रमा आफन्त गुमाएका श्रद्धालुहरूको उल्लेखनीय उपस्थिति देखिएको छ। बागमती नदी किनारमा पुजारीको सहायता लिँदै दिवङ्गत आत्माहरूको शान्तिका लागि तर्पण र पिण्डदान गर्नेहरूको घुइँचो लागेको छ।
पितृपक्षका १६ दिन विभिन्न तिथिमा विभिन्न कारणले मृत्यु भएका पितृहरूको श्राद्ध गरिन्छ । उनीहरूको आत्मालाई शान्ति मिलोस् भनेर सम्मान, कृतज्ञता र योगदानलाई स्मरण गर्दै आशीर्वाद लिने गरिन्छ । सोह्रश्राद्ध जसलाई पितृपक्ष वा महालय श्राद्ध पनि भनिन्छ । सोह्रश्राद्धको महिनाभर चोखो नितो गर्नुपर्ने हुन्छ ।
श्राद्ध गर्ने मान्छेले करिब २४ घण्टा अगाडि कपाल खौरिनु पर्ने, देउता वस्त्र अनुसार धोती धारणा गर्ने, एक छाक शुद्ध खाने र स्नान गर्नपर्छ ।
यस वर्ष भाद्र २३ देखि आश्विन ५ गतेसम्म सोह्रश्राद्ध रहेको छ । प्रतिपदा तिथि विशेषगरी भाद्र २३ गते भनिए पनि २२ गते राति ११ः४९ बजेदेखि नै शुरू हुन्छ । यो तिथि भाद्र २३ गते राति १०ः१७ बजेसम्म कायम रहन्छ ।









