काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा आज९सोमबार० ऊर्जा, कानुन र अर्थ क्षेत्रका तीन विज्ञलाई मन्त्रीको शपथ खुवाइने भएको छ। गत भदौ २३ र २४ को जेनजी आन्दोलनपछि गत शुक्रबार कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो।
आइतबार शपथ ग्रहणपछि उनले कानुनका विज्ञ अधिवक्ता ओमप्रकाश अर्याल, अर्थतन्त्रका विज्ञ रामेश्वर खनाल र ऊर्जा क्षेत्रका विज्ञ इन्जिनियर कुलमान घिसिङलाई मन्त्रीको जिम्मेवारी दिने निर्णय गरेकी हुन्। अर्याल गृह र कानुन, खनाल अर्थ र घिसिङ ऊर्जा तथा सहकारी मन्त्री बन्दैछन्।
उनीहरूलाई दिउँसो ११;३० बजे शपथ खुवाउन लागिएको हो।
घिसिङ प्रतिष्ठित इन्जिनियर हुनुका साथै नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हुन्। उनी लोडसेडिङ अन्त्य गर्ने उज्यालो नेपालका अभियन्ताका रूपमा चिनिन्छन्। उनको नेतृत्वमा प्राधिकरणले १८ घण्टासम्मको लोडसेडिङलाई पूर्ण रूपमा हटाएको थियो। उनको कार्यकालमा ऊर्जा क्षेत्रमा सुधार र पारदर्शिता ल्याउने काम भएको थियो।
कार्यशैलीका कारण उनले जनताको विश्वास जितेका थिए। पछिल्लो समय डेडिकेटेड र ट्रंकलाइनमार्फत लोडसेडिङको समयमा विशेष सुविधामार्फत विद्युत प्रयोग गरेका उद्योगीसँग भुक्तानी उठाउन खोज्दा केपी ओली नेतृत्वको सरकारले उनलाई हटाएर दीपक खड्कालाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो।
यसैगरी खनाल नेपालका वरिष्ठ अर्थविद् र पूर्व अर्थसचिव हुन्। उनी आर्थिक सुधारका पक्षधर र नीति निर्माणमा सक्रिय व्यक्तित्वका रूपमा चिनिन्छन्। उनले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको नेतृत्व गर्दै लगानी वातावरण सुधार र उत्पादन लागत घटाउने प्रयास गरेका थिए। उनको कार्यकालमा आर्थिक नीतिहरूमा सुधार ल्याउने प्रयास भएको थियो।
यसैगरी अधिवक्ता अर्याल काठमाडौँ महानगरपालिका मेयर बालेन शाहका निकट उनी कानुन व्यवसायी हुन् । सार्वजनिक सरोकारका मुद्दामा सक्रिय उनी प्रखर संवैधानिक वकिलका रूपमा चिनिन्छन्।
कार्कीले तीन मन्त्रीलाई शपथ खुवाउने तयारी गरिरहँदा जेनजीका अगुवा भनिएका सुदन गुरुङ नेतृत्वको हामी नेपाल समूह र जेनजी शहीदका आफन्तहरू भने असन्तुष्ट देखिएका छन्। युवाहरूले डिस्कोर्डबाट मन्त्री छान्ने बताइरहँदा कार्कीले मन्त्रीको नाम टुंगो लगाएपछि आइतबार मध्यराति गुरुङको नेतृत्वमा बालुवाटारअघि प्रधानमन्त्रीको राजीनामा माग्दै प्रदर्शन गरिएको थियो।









