रामेश्वर खनालले गाडी, आवास, पीएसओलगायतका कुनै सुविधा नलिने



काठमाडौँ । जेनजी आन्दोलनपछि पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकारमा आज अर्थविद् रामेश्वर खनालले अर्थमन्त्रीको शपथ लिँदैछन्।

दिउँसो ११;३० मा खनालसहित ऊर्जा क्षेत्रका विज्ञ कुलमान घिसिङ र कानुनका ज्ञाता ‌ओमप्रकाश अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिँदैछन्।

मन्त्री बन्ने पक्का भएपछि अर्थविद् खनालले मन्त्रीका रूपमा तलबबाहेक अन्य कुनै पनि सुविधा नलिने घोषणा गरेका छन्। उनले भत्ता, मन्त्री आवास, गाडी र सुरक्षागार्ड ‘पीएसओ’लगायतका कुनै पनि सुविधा नलिने शर्त राखेको बालुवाटारनिकट स्रोतले जनाएको छ। यस्तै नामका अगाडि माननीय लेख्न पनि नपाइने शर्त उनले राखेको बालुवाटार स्रोतले जनाएको छ।

यसअघि तत्कालीन प्रधानमन्त्री डा। बाबुराम भट्टराईको आर्थिक सल्लाहकार रहँदा पनि खनालले कुनै पनि सरकारी सेवा सुविधा लिएका थिएनन्।

खनाल यसअघि २०८१ कात्तिकमा केपी शर्मा ओली नेतृत्वको सरकारको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको अध्यक्ष थिए। त्यसबेला उनले खर्च कटौतीबारे सुझाव दिएका थिए। उनी सार्वजनिक प्रशासन सुधार र मितव्ययी खर्चको वकालत गर्दै आएका छन्।

पूर्व अर्थसचिव समेत रहेका उनी इमान्दार छवि बनाएका प्रशासकका रूपमा चिनिन्छन्। शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेका खनाल २०६३ सालमा सचिव बन्न सफल भएका थिए। तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीसँग कुरा नमिलेपछि २०६७ सालमा उनले एक वर्ष कार्यकाल बाँकी रहँदै राजीनामा दिएका थिए।

प्रकाशित मिति : भाद्र ३०, २०८२ सोमबार  १२ : ०५ बजे