लोकतन्त्र जनताको आवाज सुन्ने, संवाद गर्ने र समाधान खोज्ने प्रणाली होः प्रधानमन्त्री कार्की



काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले लोकतन्त्र जनताको आवाज सुन्ने, संवाद गर्ने र समाधान खोज्ने प्रणाली भएको बताएकी छन् । संविधान दिवसका अवसरमा शुक्रबार ९असोज ३० काठमाडौंको टुँडिखेलमा आयोजित मूल समारोह समितिको कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।

उनले ‘जेनजी’ पुस्ताको आन्दोलन गरिएका प्रतिबद्धता, संघीय गणतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानवअधिकार, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष, सक्षम न्यायपालिका, कानुनी राज्य, सुशासनलगायत लोकतान्त्रिक मूल्य–मान्यतामा नेतृत्व वर्ग खरो उत्रन नसक्नुको परिणाम भएको टिप्पणी गरिन् ।

अन्तर्राष्ट्रियस्तरमा देखिएको नागरिकमैत्री शासन प्रणाली, खुला सरकार र भर्चुअल शासनका बारेमा जानकार रहेका युवापुस्ताले उठाएको रोजगारीको अवसर, गुणस्तरीय जीवनस्तर, सरकारका काम–कारबाहीमा पारदर्शिता, कानुनी समानता, भ्रष्टाचारको अन्त्य, सुशासन र विकासजस्ता सवाल यथार्थमै सबै पुस्ताका साझा अपेक्षा र राष्ट्रिय एजेन्डा भएको उनले उल्लेख गरिन् ।

यी एजेन्डालाई आत्मसात् गर्दै जनअपेक्षाबमोजिम काम गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको पनि उनले बताइन् ।

आफूमा कुनै शासकीय आकांक्षा र पदको लालसा नभएको उनले स्पष्ट पारिन् । देश संकटमा रहेका बेला परिवर्तन चाहने युवापुस्ताको अनुरोधका आधारमा चुप लागेर बस्न नसकी संक्रमणको व्यवस्थापन गर्दै नेपालको संविधानबमोजिम ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचनमार्फत जनप्रतिनिधि सरकारलाई जिम्मेवार हस्तान्तरण गर्ने गरी आफू वर्तमान अन्तरिम सरकारको प्रधानमन्त्री बनेको उनले बताइन् ।

प्रधानमन्त्री कार्कीले संविधान दिवस सबै नेपालीले गौरव गर्ने दिन भएको उल्लेख गरिन् । संविधान दिवस केवल उत्सव मात्र नभई संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्यांकन गर्ने दिन भएको उनले बताइन् । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति : आश्विन ३, २०८२ शुक्रबार  ११ : २६ बजे