वीरगञ्ज नाका हुँदै साउन र भदौमा एक खर्ब ४६ अर्बको आयात, १७ अर्बको निर्यात



पर्सा । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको दुई महिनामा एक खर्ब ४६ अर्ब ६४ करोड मूल्य बराबरका वस्तु तथा सामान भित्रिएका छन्। गत आर्थिक वर्षको दुई महिनाको तुलनामा चालु आर्थिक वर्षमा यो नाका हुँदै २० प्रतिशत बढी सामान भित्रिएका हुन्।

जबकी गत आवको दुई महिनाको अवधिमा भने एक खर्ब २२ अर्ब ३२ करोड मूल्य पर्ने वस्तु तथा सामान भित्रिएको थियो। वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले गत आवको दुई महिनाको तुलनामा चालु आवमा आयात र निर्यात दुवैमा वुद्धि भएको जानकारी दिए।

‘गत आवको दुई महिनाको तुलनामा चालु आवमा २४ अर्ब ३२ करोड बढी सामान भित्रिएका छन्’ उनले भने’आयात मात्रै होइन राजस्व संकलनमा पनि वृद्धि भएको छ’ वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षको दुई महिनाको तुलनामा चालु आर्थिक वर्षको दुई महिनामा यो नाका हुँदै हुने निर्यातमा पनि उल्लेखनीय सुधार भएको छ।

गत आवको दुई महिनामा ६ अर्ब पाँच करोड मूल्यको सामान विदेशीमूलक निर्यात भएको थियो। तर, चालु आवको दुई महिनामा यो नाका हुँदै १७ अर्ब तीन करोड रूपैयाँ मूल्य बराबरको सामान निर्यात भएको छ।

गत आवको दुई महिनाको तुलनामा चालु आवमा १० अर्ब ९८ करोड बढीको सामान निर्यात भएको देखिन्छ। रासस

प्रकाशित मिति : आश्विन ६, २०८२ सोमबार  ११ : ३८ बजे