राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य



काठमाडौं, २५ असोज । मनमोहन कार्डियोथरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको बताएको छ ।

राष्ट्रपति पौडेलको स्वास्थ्य परीक्षण भइरहेको बताइएको छ ।

स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति पौडेल आज विहान अस्पताल भर्ना भएका थिए । राष्ट्रपति भवन शीतलनिवासमा ‘जेनजी’ प्रतिनिधिसित प्रधानमन्त्री सुशीला कार्कीको छलफल जारी रहेका बेला उनको स्वास्थ्यमा समस्या देखिएको थियो । राष्ट्रपतिकै आह्वानमा भएको उक्त छलफल छिटो गरी सकाएर उनी अस्पताल भर्ना भएका हुन् ।

अस्पतालका कार्यकारी निर्देशक प्रा।डा।रत्नमणि गजुरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘ सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूको स्वास्थ्यमा समस्या आएपछि यस सेन्टरमा उपचारार्थ भर्ना हुनुभएको छ । हाल सम्माननीयज्यूको स्वास्थ्य परीक्षण भइरहेको छ । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराउँछौं ।’

प्रकाशित मिति : आश्विन २५, २०८२ शनिबार  ५ : ०१ बजे