२० अर्बको उर्जा ऋणपत्र कसरी जारी गरिँदैछ ?



काठमाडौं । चार वटा ठूला जलविद्युत आयोजनामा लगानी जुटाउन उर्जा ऋणपत्र जारी गर्न प्रक्रिया अघि बढ्ने भएको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले जलविद्युत आयोजना निर्माणका लागि स्रोत व्यवस्थापन गर्न २० अर्ब रुपैयाँ बराबरको उर्जा ऋणपत्र चरणवद्ध रुपमा निष्कासन गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेसँगै नेपाल विद्युत प्राधिकरणले प्रक्रिया अघि बढाउने भएको हो ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले अब प्रक्रिया तत्कालै अघि बढ्ने जानकारी दिए। उनकाअनुसार बन्ड जारी गरेरै अपर अरुण जलविद्युत आयोजना बनाइँदैछ ।

करिव ११ सय मेगावाट क्षमताको उक्त आयोजनाका लागि लगानी जुटाउन थालिएको हो भने अर्को १ सय मेगावाटको तामाकोशी–५ मा पनि बन्ड जारी गरेरै लगानी जुटाइँदैछ ।

यस्तै २१० मेगावाटको चैनपुर सेती जलविद्युत अयोजना र ४२ मेगावाटको मोदी जलविद्युत आयोजना निर्माणका लागि ऊर्जा ऋणपत्र जारी गरेर लगानी जुटाउन लागिएको छ ।

यी आयोजनाहरु प्राधिकरणमार्फत बन्नेछन् । चार ठूला जलविद्युत आयोजनाका लागि आवश्यक रकम जुटाउन चरणबद्ध रुपमा ऋणपत्र जारी हुने सिलवालको भनाइ रहेको छ । सिलवालकाअनुसार जलविद्युत आयोजनाको लागि प्राधिकरणले आफ्नो तर्फबाट गर्ने लगानी सहज होस् भनेर ऊर्जा ऋणपत्र जारी गर्न खोजेका हो ।

प्रकाशित मिति : आश्विन २५, २०८२ शनिबार  ५ : २४ बजे