काठमाडौं । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनको माग गर्दै पार्टी नेतृत्वलाई हस्ताक्षर बुझाएका छन् ।
जेन—जी आन्दोलनपछि सभापति शेरबहादुर देउवामाथि पद छोड्न दबाब दिँदै आएका महाधिवेशन प्रतिनिधिहरुले बुधवार अपरान्ह पार्टी मुख्यालय सानेपामा हस्ताक्षर बुझाएका हुन् ।
महाधिवेशन प्रतिनिधिहरुले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशनको मागसहित ५३ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षरसहितको निवेदन बुझाएका हुन् ।
नियमित महाधिवेशनको प्रक्रिया नै शुरु नभएपछि आफूले विशेष अधिकारको प्रयोग गर्दै विशेष महाधिवेशनको मागसहितको निवेदन पार्टी नेतृत्वलाई बुझाएको पार्टीका नेता गुरु घिमिरले जानकारी दिए ।
उनले १४औं महाधिवेशनका कुल प्रतिनिधि संख्याको करिब ५३ प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरी विशेष महाधिवेशन माग गरेको जानकारी दिए।









