काठमाडौँ महानगर बैठकमा मेयर बालेन र वडाध्यक्ष तण्डुकारबीच घोचपेच



काठमाडौँ । शुक्रबार बसेको काठमाडौँ महानगरपालिकाको ४३औं नगर कार्यपालिका बैठकमा मेयर बालेन शाह र वडाध्यक्ष हिरालाला तण्डुकारबीच घोचपेच भएको छ।

बैठकमा काठमाडौँ महानगरको भवन बनाउनेसम्बन्धी छलफलका क्रममा मेयर शाह र वडाध्यक्ष तण्डुकारबीच घोचपेच भएको हो।

बैठकमा सुशासन समितिका संयोजन ख्यामराज तिवारीले अस्पताल बनाउन स्काउटको जग्गा भाडामा लिने प्रस्ताव पेस गरेका थिए। प्रस्ताव पेश भएपछि वडाध्यक्षले यसमा मेरो आपत्ति छ भन्दै पहिला महानगरको आफ्नै भवन बनाउनुपर्नेमा ध्यान नपुगेको भन्दै आपत्ति जनाए।

तण्डुकारले भने, महानगरले आफ्नो भवन बनाउन सकेको छैन। नगर प्रहरीदेखि सबै ठाउँमा सधैं भाडा तिरेर बसेको छ । उनले भने, खाली काल्पनिक कुरा गरेर हुँदैन। आफ्नो घर नबनाई अस्पताल बनाउँछु भनेर लागिपरेर हुन्छ र ? पहिला आफ्नो घर बनाऔं अनि बल्ल अर्को कुरा गरौं ।

त्यसपछि मेयर बालेनले महानगरपालिकाको भवन निर्माणको काम तिहारपछि सुरु हुने जानकारी गराए।

वडाध्यक्षले स्काउटको जग्गा कसैलाई दिनुहुँदैन भनेर अदालतमा मुद्दा परिरहेको सन्दर्भ निकाल्दै यस्तो बेला सम्झौता गरेर किन अस्पताल भवन बनाउनेतिर लाग्ने ? भन्दै प्रश्न गरे।

बालेनले पुनस: तिहारपछि निर्माण कार्य सुरु हुने बताए।

तण्डुकारले सधै आश्वासन दिएको तर काम नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए।

तिहारपछि सुरू हुन्छ भनिसकेपछि के तपाईंले नबनोस् भन्न खोज्नु भएको होु, बालेनले प्रश्न गर्दै तण्डुकारलाई भने।

वडाध्यक्षले छिटो बनोस् भन्ने चाहेको बताए। बालेनले फेरि भने, ‘ए, ए, ल, ल, तिहारलाई चाँडै सक्किन भन्छु म हस्।’

प्रकाशित मिति : आश्विन ३१, २०८२ शुक्रबार  २ : ४३ बजे