पार्टी महाधिवेशन मंसिरभित्रै हुनुपर्छः काँग्रेसका विशेष महाधिवेशन पक्षधर



काठमाडौं । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधर हस्ताक्षरकर्ताले पार्टी महाधिवेशन अविलम्ब हुनुपर्ने माग गरेका छन् । आइतबार बिहान काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरूले यस्तो माग गरेका हुन् ।

उनीहरूले केन्द्रीय समिति बैठक अस्वाभाविक रूपमा लम्ब्याइएको आरोप लगाए । महाधिवेशन प्रतिनिधि मनोजमणि आचार्यले केन्द्रीय समिति बैठक अनिश्चित हुनुले पदाधिकारीसहित समितिको मनसाय महाधिवेशन नगर्ने र आफ्नो म्याद थप्नेतर्फ उद्यत रहेको देखिएको बताए । वर्तमान केन्द्रीय समितिको यस्तो प्रवृत्ति आपत्तिजनक रहेको उनले उल्लेख गरे ।

कुनै पनि कारण देखाएर प्रतिनिधिको अवमूल्यन गर्ने र महाधिवेशन टार्ने कार्य स्वीकार्य नहुने उनले बताए । पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको असफलताको मानक नेपाली राजनीतिमा भएका घटनाले पुष्टि गरेको उनले जिकिर गरे ।

उनले केन्द्रीय समितिले आफ्नो म्याद थपरेर पार्टीको नेतृत्व गर्ने धरातल गुमाइसकेको टिप्पणी गरे । आउँदो निर्वाचनमा जानुपर्ने आवश्यकता महसुस गरी विशेष महाधिवेशन माग गरिएको उनले स्पष्ट पारे ।

आफूहरूको मागप्रति गम्भीर रही महाधिवेशनतर्फ अग्रसर हुन उनले सचेत गराए । आउँदो मंसिरभित्र विधिवत् महाधिवेशन गरी नयाँ कार्यसमितिको चयन आजको आवश्यकता भएकामा उनले जोड दिए ।

उनले केन्द्रीय समिति पार्टीको मूल जिम्मेवारीबाट भाग्न खोजेको र बरालिएको महसुस आफूहरूले गरेको बताए । विशेष महाधिवेशनको मागलाई वैधानिक, समयसापेक्ष, स्वाभाविक आवश्यकताका रूपमा महसुस गरी कार्यान्वयनतर्फ अघि बढ्न उनले माग गरे ।

कांग्रेस केन्द्रीय सदस्य गुरु घिमिरेले भदौ २३ र २४ गतेका तोडफोड, आगजनीका उग्र क्रियाकलापका पक्षधर आफूहरू नभएको बताए । तोडफोड, आगजनी र लुटपाटका क्रियाकलाप निन्दनीय रहेको उनले उल्लेख गरे ।

“भदौ २३ र २४ का घटनाहरूले हामीलाई सधैँ बिझाइरहनेछ । तोडफोड, आगजनीका उग्र क्रियाकलापका पक्षधर हामी होइनौँ । ती क्रियाकलापहरू निन्दनीय छन्,” उनले भने, “त्यो घटनाले विश्व राजनीतिमा मानक खडा गरेको छ । अब कसरी जाने भन्ने छलफल गरेका छौँ ।”

मंसिर मसान्तभित्र पार्टी महाधिवेशन गर्नैपर्नेमा उनले जोड दिए । ०४६ सालयता नेतृत्व गर्दा र जनताले बारम्बार दिएको जिम्मेवारी, हरेक निर्वाचनमा प्राप्त समर्थनलाई दृष्टिगत गर्दा कांग्रेसबाट पनि कमजोरी भएको महसुस गर्न जरुरी रहेको उनले औँल्याए ।

उनले भने, “मंसिर मसान्तभित्र महाधिवेशन गर्नैपर्छ । नेतृत्व बदल्नैपर्छ । २०४६ सालयता नेतृत्व गर्दा र जनताले बारम्बार दिएको जिम्मेवारी, हरेक निर्वाचनमा प्राप्त गरेको समर्थनलाई दृष्टिगत गर्दा हामीबाट पनि कमजोरी भयो कि रु यो भदौ २३ र २४ को घटनासम्म आइपुग्दा हाम्रा यी कमजोरीहरू कारक छन् कि ?”

गएको असोज २९ गते कांग्रेस केन्द्रीय कार्यालयमा पुगेर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई १४औँ महाधिवेशनका दुई हजार ४८८ प्रतिनिधिले हस्ताक्षरसहितको निवेदन बुझाएका थिए । बदलिँदो राजनीतिक परिवेशलाई आत्मसात् गर्दै पार्टी विधानको धारा १७९२० बमोजिम महाधवेशनको माग गरिएको उनीहरूले बताएका छन् ।

प्रकाशित मिति : कार्तिक २, २०८२ आईतबार  ११ : ०८ बजे