निर्वाचनका लागि ७९ प्रकारका सामग्री आवश्यकः १४ सामग्री खुला प्रतिष्पर्धाबाट किन्ने तयारी



काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि आवश्यक सामग्रीहरूको तयारी अन्तिम चरणमा पुर्‍याएको छ। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार यस निर्वाचनमा कुल ७९ प्रकारका निर्वाचन सामग्री आवश्यक पर्ने सूची तयार गरिएको छ।

आयोगले आवश्यक ७९ सामग्रीमध्ये १४ प्रकारका सामग्री मात्र खुला प्रतिस्पर्धाबाट खरिद गर्ने तयारी गरेको छ। भण्डारीले यी १४ सामग्री खरिद गर्दा स्वदेशी उत्पादनलाई नै प्राथमिकता दिइने र केही सामान मात्र विदेशबाट खरिद गरिने बताए।

बाँकी अधिकांश सामग्रीहरू स्थानीयस्तरमै किन्न सकिने भएकोले त्यहीँबाट जोहो गर्ने व्यवस्था मिलाइएको छ। मतपत्र छपाईका लागि आवश्यक पर्ने कागज र मतपेटिकाहरू आयोगसँग पर्याप्त स्टक रहेकोले खरिद गर्नु नपर्ने पनि उनले स्पष्ट पारेका छन्।

गत २३ र २४ भदौको जेन–जी विद्रोहपछि गठित अन्तरिम सरकारले अगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनको मिति तोकेको छ ।

निर्वाचनको वातावरणका लागि संवद्ध पक्षहरूसँग सघन वार्ता र छलफल गरिरहेको सरकारले राजनीतिक दल र जेन–जी प्रतिनिधिसँग समेत चरण चरणमा छलफल गरिरहेको छ ।

घोषित मितिमा निर्वाचन गर्दा जेन–जी पुस्ताका लाखौँ मतदातालाई मतदान गर्ने अधिकारको सुनिश्चितता गर्न सरकारले अध्यादेश ल्याएको छ । सोही आधारमा निर्वाचन आयोगले निर्वाचनको मिति तोकिएपछि बन्द भएको मतदाता नामावली संकलन गर्ने कार्य जारी राखेको छ ।

आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीकाअनुसार हाल मतदाता नामावली संकलनदेखि आवश्यक सामग्री खरिद र आचारसंहिता निर्माणसम्मका सबै तयारी अन्तिम चरणमा पुगेका छन् ।

प्रकाशित मिति : कार्तिक १८, २०८२ मंगलबार  ११ : ४८ बजे