काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पर्यटन बिभाग प्रमुख आङ गेलु शेर्पाले सरकारले घोषणा गरेको निर्वाचन अघि पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने बताएका छन् ।
नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बुधबारको बैठकमा धारणा राख्दै शेर्पाले निर्वाचन अघि पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने बताएका हुन् ।
उनले देशमा उठेका प्रश्न र समस्याको समाघान खोज्न पनि महाधिवेशन हुनैपर्ने जिकिर गरे । महाधिवेशनबाटै नयाँ नीति र नेतृत्व निर्माण गर्नुपर्ने बताए । ‘शासकीय स्वरूप, विदेश नीति लगायतका राष्ट्रिय विषयहरूको स्पष्ट मार्ग निर्देशन गर्दै थप ऊर्जा र जाँगरका साथ अगाडि बढ्नु अहिलेको टट्कारो आवश्यकता हो। यसले मात्र वर्तमान राजनीतिक चुनौतीहरूको सामना गर्न सकिन्छ,’ शेर्पाले भने ।
शेर्पाले नयाँ नीति र नयाँ नेतृत्व बिना चुनाबमा जान नसकिने स्पस्ट पारे । उनले अब महाधिवेशनले मात्रै कांग्रेसलाई नयाँ सोच, नयाँ नीति र नयाँ नेतृत्वतर्फसहित जनताकोमा जाने म्यान्डेट दिने दाबि गरे ।
शेर्पाले नेताहरू दरबारको ईशारामा चल्ने राष्ट्रिय पञ्चायत जस्तो बनाएर संसदको गरिमा तहसनहस बनाउदा यो परिस्थिती सृजना भएको भन्दै लोकतन्त्रका हिमायतिहरु अधिबेसनबाट भाग्न नमिल्ने भँनाई राखे ।









