काठमाडौं । एनसेल र मेटलाइफ नेपालको साझेदारीमा “डाटासँगै जीवन बीमा” नामक एक नवीन योजना सुरु भएको छ ।
यो सेवा लिने ग्राहकहरुले मोबाइल डेटाका साथै जीवन तथा घातक रोगको बीमा एकैसाथ पाउँनेछन् ।
नेपालमै पहिलोपटक सुरु गरिएको यो सेवामा ग्राहकहरूले दुई छुट्टाछुट्टै प्याकेजमध्ये कुनै एक रोज्न सक्नेछन्।
पहिलो प्याक रु. ९९ (करसहित) को रहेको छ, जसमा ३ दिनका लागि १०० एमबी डेटा, रु. २ लाखको म्यादी जीवन बीमा, र रु. २ लाखको घातक रोग बीमा पाइनेछ। बीमा सुविधा प्याक खरिद गरेको मितिबाट ३० दिनसम्म मान्य हुनेछ।
त्यस्तै दोस्रो प्याक रु. ३९ (करसहित) को छ, जसमा ३ दिनका लागि १०० एमबी डेटा, साथै रु. ५० हजारको म्यादी जीवन बीमा र रु. ५० हजारको घातक रोग बीमा उपलब्ध हुनेछ। यस बीमाको अवधि पनि खरिद मितिबाट ३० दिन रहनेछ।
ग्राहकहरूले यी प्याकहरू एनसेल एपमार्फत वा *123*4*6# डायल गरेर लिन सक्नेछन्। फारम भरेपछि टर्म लाइफ इन्स्योरेन्स तुरुन्तै सक्रिय हुन्छ भने क्रिटिकल इलनेस (गम्भीर रोग) कभरेज भने ३० दिनपछि लागू हुनेछ।
एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपङ्ग दत्तले भने, “मेटलाइफ नेपालसँगको यो सहकार्यले देशका सबै वर्गका ग्राहकलाई डिजिटल माध्यममार्फत बीमाको पहुँच सहज बनाउने र सामाजिक उत्तरदायित्व र ग्राहक मूल्य सिर्जनातर्फको प्रतिबद्धता झल्काउँने एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपङ्ग दत्तले बताए ।
मेटलाइफ नेपालका प्रमुख वितरण अधिकृत अरुण बहादुर बस्नेतका अनुसार, “सुरक्षा सबैको अधिकार हो, सुविधा होइन। सानो डेटा प्याक खरिदमार्फत जीवन बीमा उपलब्ध गराउने यो पहलले नेपाली उपभोक्तालाई मानसिक शान्ति र दीर्घकालीन सुरक्षा प्रदान गर्नेछ।”
यो योजना विशेषगरी दुरदराजका ती समुदायहरूका लागि उपयोगी हुने अपेक्षा गरिएको छ, जसले अहिलेसम्म बीमा सेवामा पहुँच पाएका छैनन्।
सुलभ शुल्क, डिजिटल प्रक्रिया र प्रभावकारी बीमा प्रणालीसहितको यो योजनाले नेपालको वित्तीय समावेशिता र सामाजिक सुरक्षातर्फ एक ऐतिहासिक कदम चाल्ने विश्वास व्यक्त गरेको एनसेलले जनाएको छ ।
एनसेल सन् २००४ मा स्थापना भई २००५ बाट सेवा प्रदान गर्दै आइरहेको नेपालको पहिलो निजी मोबाइल सेवाप्रदायक कम्पनी हो । प्रत्येक नेपालीलाई आफ्ना सेवाहरुमार्फत जोड्दै कनेक्टिभीका लाभहरु प्रदान गर्ने लक्ष्यका साथ कम्पनीले निरन्तर काम गर्दै आईरहेको छ ।
एनसेल नेपालका सबैभन्दा ठूला करदातामध्ये एक हो । आफ्नो स्थापना पश्चात कम्पनीले हालसम्म विभिन्न कर तथा शुल्कका रूपमा सरकारलाई ३६० अर्ब रुपैयाँभन्दा बढी तिरिसकेको छ । यसैगरी, कम्पनीले व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)मा एनसेल फाउन्डेसनमार्फत शिक्षा, वातावरण, स्वास्थ्य, कला र संस्कृतिको संरक्षण जस्ता क्षेत्रहरूमा विविध सामाजिक परियोजनाहरू कार्यान्वयन गर्दै २ अर्ब रुपैयाँभन्दा बढी योगदान गरिसकेको छ ।














