पुस २९ भित्र विशेष महाधिवेशन बाध्यात्मक छ: विश्वप्रकाश शर्मा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तीन महिनाभित्र विशेष महाधिवेशन बाध्यात्मक रहेको बताएका छन्।

आइतबार सामाजिक सञ्जालबाट महामन्त्री शर्माले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेकाले उनीहरूको मागलाई सम्बोधन गर्नैपर्ने बताएका हुन् ।

‘नियमित महाधिवेशन पुस, माघ, वैशाखमा या त्योभन्दा अघिपछि गर्न नेपाली कांग्रेसको विधानले बाधा गर्दैन । तर, विशेष महाधिवेशन ९० दिनभित्र अनिवार्य सम्पन्न गर्न विधानको दफा १७(२) को स्पष्ट निर्देशन छ । यो बाध्यात्मक छ’ उनले भनेका छन् ।

५४ प्रतिशत (२४८८ जना) महाधिवेशन प्रतिनिधिहरूले असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाएकोले त्यसको तीन महिना (पुस २९) भित्र विशेष महाधिवेशन गर्नु विधान अनुसार बाध्यकारी रहेको महामन्त्री शर्माको भनाइ छ।

‘५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखित रुपमा माग गरेको विशेष महाधिवेशन आयोजना गर्ने कि नगर्ने अहिलेको मुल प्रश्न हो । विशेष महाधिवेशनको मागलाई कि विशेष महाधिवेशनको आयोजनाले कि त्यही समयावधिभित्र नियमित महाधिवेशनको आयोजनाले मात्रै सम्बोधन गर्नसक्दछ । यसलाई कुनै इफ, बट, इन्तु, परन्तु नगरिकन प्रष्ट ढंगले बुझ्न जरुरी छ,’– उनले भनेका छन् ।

प्रकाशित मिति : कार्तिक २३, २०८२ आईतबार  १२ : ०५ बजे