जनकपुरधाम । मिथिलाक्षेत्रमा जारी सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत शनिवार धनुषयज्ञ विधि सम्पन्न भएको छ ।
त्रेता युगमा तत्कालिन मिथिलाका राजा शिरध्वज जनकको प्रतिज्ञाअनुसार भएको धनुष यज्ञको स्मरणमा प्रत्येक वर्ष विवाह उत्सव अन्तर्गत धनुष यज्ञको आयोजना गरिँदै आएको छ ।
धनुष यज्ञमा गुरु विश्वामित्रका साथमा अयोध्याका राजा दशरथका छोरा भगवान राम, लक्ष्मण, भरत तथा शत्रुध्न सहित सहभागि भएर भगवान रामले भगवान शिवको पिनाक धनुषमा प्रत्यञ्चा चढाउदा तीन टुकडा भएको थियो ।
सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत आईतबार जनकपुरधामको राममन्दिरमा तिलकोत्सव मनाइने छ । त्यसको भोलीपल्ट सोमबारको दिन जनकपुरधामको ऐतिहासिक गंगासागर पोखरीमा मटकोर मनाइन्छ ।
मंगलबार मुख्य दिन स्वयमवर विधि तथा शुभ विवाह महोत्सव हुनेछ । र अन्तिम दिन बुधबार रामकेलवा भएसँगै विवाहपञ्चमी महोत्सव समाप्त हुनेछ ।














