काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले विगतमा संसद् विघटनमा संलग्नहरूले अहिले पुनर्स्थापनाका कुरा उठाउनु बेमौसमको बतास जस्तै भएको टिप्पणी गरेका छन् ।
शुक्रवार धनगढीमा आयोजित पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले सो टिप्पणी गरेका हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ इंगित गर्दै उनले भने, “देशलाई उल्टो बाटोमा लैजाने दम्भ र अहंकारी प्रवृत्तिलाई जनता आफैँले सबक सिकाउने बेला आएको छ ।”
उनले सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टीलाई पहिलो शक्तिबाट कसैले रोक्न नसक्ने दाबी गरे ।प्रचण्डले आफूहरु निर्वाचनमा केन्द्रित भइसकेको उल्लेख गर्दै देशभर नेकपालाई पहिलो शक्तिको रुपमा स्थापित गर्न एकतावद्ध भएर लाग्न नेता कार्यकर्ताहरुलाई आह्वान समेत गरे।









