काठमाडौँ । कतारले १३ जना नेपालीलाई आममाफी दिएको छ।
आफ्नो राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा १३ जना नेपाली कैदीलाई अमिरी आममाफी दिएको हो। उक्त आममाफीप्रति नेपाल सरकारले कृतज्ञता व्यक्त गरेको छ।
परराष्ट्र मन्त्रालयद्वारा बिहीबार जारी प्रेस विज्ञप्तिमा मानवीय आधारमा प्रदान गरिएको आममाफीलाई नेपाल–कतारबीच विद्यमान द्विपक्षीय सम्बन्ध, मित्रता र सौहार्दता अझ सुदृढ हुँदै गएको संकेतका रूपमा लिइएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा कतार सरकारको यस कदमले मानवीय मूल्य–मान्यताको सम्मानका साथै दुवै देशबीचको आपसी समझदारी र सहयोगलाई थप मजबुत बनाएको उल्लेख छ। साथै, परराष्ट्र मन्त्रालयले कतार सरकारप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनहरूमा दुई देशबीचको सहकार्य अझ विस्तार हुने विश्वास व्यक्त गरेको छ।










