प्रतिनिधिसभा निर्वाचन : काठमाडौंमा सात लाख १० हजार ७०८ मतदाता, २५७ उम्मेदवार



काठमाडौं । संघीय राजधानी रहेको जिल्ला काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमा सात लाख १० हजार ७०८ मतदाता कायम भएका छन् ।

महिला तीन लाख ६४ हजार, पुरुष तीन लाख ४६ हजार ११६ र सात रहेको जिल्ला निर्वाचन कार्यालय काठमाडौंले जनाएको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौंमा मतदान स्थल ३२० र मतदान केन्द्र ८१७ कायम गरिएको जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले जानकारी दिए ।

काठमाडौं, निर्वाचन क्षेत्र नं. १ मा मतदान स्थल २२, मतदान केन्द्र ५७ छन् । यहाँ २५ हजार २५२ महिला र २३ हजार २३७ पुरुष गरी कुल ४८ हजार ८४९ मतदाता रहेका छन् ।

क्षेत्र नं. २ मा मतदान स्थल ४०, मतदान केन्द्र १०० छन् । यस क्षेत्रमा पुरुष मतदाता ४५ हजार ३१५ र महिला मतदाता ४३ हजार ३९३ गरी कुल मतदाता ८८ हजार ७०८ रहेका छन् ।

क्षेत्र नं. २ काठमाडौं जिल्लाका १० वटै निर्वाचन क्षेत्रमा सबैभन्दा बढी मतदाता रहेको क्षेत्र हो ।

काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नं. ३ मा मतदान स्थल २९ र मतदान केन्द्र ७२ रहेका छन् । यो निर्वाचन क्षेत्रमा महिला मतदाता ३२ हजार ९२३ र पुरुष मतदाता ३१ हजार ५५६ गरी कुल ६४ हजार ४७९ मतदाता रहेका छन् ।

क्षेत्र नं. ४ मा ३३ मतदान स्थल, ८८ मतदान केन्द्र छन् । यहाँ ३९ हजार ५९९ महिला र ३६ हजार ५४२ पुरुष गरी ७६ हजार १४१ मतदाता छन् ।

क्षेत्र नंं ५ मा मतदान स्थल ३१, मतदान केन्द्र ९० रहेका छन् । ४० हजार ८३२ महिला, ३७ हजार २७८ पुरुष र अन्य चार गरी कुल मतदाता ७८ हजार ११४ रहेका छन् ।

क्षेत्र नं. ६ मा मतदान स्थल ३२, मतदान केन्द्र ७९ छन् । यहाँ महिला ३४ हजार ९५६, पुरुष ३२ हजार ८०२ र अन्य एक गरी कुल मतदाता ६७ हजार ७५९ रहेको छ ।

क्षेत्र नं. ७ मा मतदान स्थल २९, मतदान केन्द्र ७८ छन् । महिला ३४ हजार ७३८ र पुरुष ३२ हजार ६७३ गरी कुल ६७ हजार ४११ मतदाता रहेका छन् ।

क्षेत्र नं. ८ मा मतदान स्थल २३ र मतदान केन्द्र ६५ छन् । महिला २९ हजार ८९८ र पुरुष २७ हजार ९१३ गरी कुल ५७ हजार ८११ मतदाता रहेका छन् ।

क्षेत्र नं. ९ मा ३४ मतदान स्थल र मतदान केन्द्र ९० छन् । महिला ४० हजार २७८ र पुरुष ३८ हजार २१७ गरी कुल ७८ हजार ४९५ रहेका छन् ।

क्षेत्र नं. १० मा मतदान स्थल ४७ र मतदान केन्द्र ९८ वटा छन् । यहाँ महिला ४२ हजार ७१६, पुरुष ४० हजार ५८३ र अन्य दुई गरी कुल मतदाता ८३ हजार ३०१ रहेका छन् ।

काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नंं. १ मा ३०, क्षेत्र नंं. २ मा २२, क्षेत्र नंं. ३ मा २४, क्षेत्र नं. ४ मा २८, क्षेत्र नंं. ५ मा २७, क्षेत्र नं. ६ मा २२, क्षेत्र नं. ७ मा २८, क्षेत्र नं. ८ मा २२, क्षेत्र नं. ९ मा २७ र क्षेत्र नं. १० मा पनि २७ उमेदवारले मनोनयनपत्र दर्ता गराएको जिल्ला निर्वाचन अधिकारी भट्टराईले बताए ।

काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा गरी २५७ उमेदवारले मनोनयनपत्र दर्ता गराएका छन् । रासस

प्रकाशित मिति : माघ ८, २०८२ बिहीबार  १ : ११ बजे