अर्थमन्त्री खनालको चेतावनी: सम्पती शुद्धीकरणका अपराधीको सम्पती जफत गर्न ढिलाइ नगरौँ



काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी अपराधमा संलग्न व्यक्तिहरूको सम्पत्ति तत्काल जफत गनुपर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय संस्थाहरू एफएटिएफ (फाइनान्सियल एक्सन टास्क फोर्स) र एपीजी (एसिया प्यासिफिक ग्रुप) का प्रतिनिधिहरूले नेपालको प्रगतिप्रति चासो व्यक्त गरिरहेको सन्दर्भमा आज सम्पत्ति शुद्धिकरण विभागले गरेको एक कार्यक्रममा उनले यस्तो धारणा राखेका हून् ।

अर्थमन्त्री खनालले भने, ‘हामीले सम्पती शुद्धिकरण गरे वापतको अपराधमा कसैलाई मुद्दा मामिला गर्‍यौ। सम्पत्ति शुद्धिकरणसँग गासिएको आर्थिक अपराध छ भने त्यो दुवै अपराध भएको सम्पत्ति तत्काल जफत गर्नुपर्छ र त्यसलाई राष्ट्रले ग्रहण गर्नुपर्छ । त्यस्तो किसिमको सम्पत्तिलाई सरकारले विक्री गर्नुपर्छ । यो विषयमा हाम्रो प्रगति कमजोर छ । एफएटिएफ, एपीजीका प्रतिनिधिहरुले यस विषयमा चासो देखाइरहनुभएको छ । यसमा नेपालको प्रगति कहिल्यै पनि सन्तोषजनक भएन भनेर भनिरहनुभएको छ । त्यसभएर हाम्रा अनुसन्धान गर्ने छानविन गर्ने, मुद्दा दायर गर्ने निकायहरुले यस विषयमा आगामी दिनमा केही न केही सबुत प्रमाण लिएर अन्तर्राष्ट्रिय समुदाय समक्ष खासअपराधिले गरेका कार्यहरुमा हामीले यो सम्पत्ति जफत गर्‍यौ, सरकारले त्यसरी गरेको कारबाहीको विवरणसहित प्रमाण लिएर हामी जान सकियो भने हामीले प्रगती गरेको देखिनेछ । यसो भनिरहँदा निर्दोषलाई फसाउनुपर्छ भन्न खोजेको होइन । तर सम्पत्ति शुद्धिकरणको अपराध गरेकाहरुलाई सरकारले कारबाही गर्नैपर्छ । त्यो प्रमाण हामीले अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनैपर्छ ।’

सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित मुद्दामा अनुसन्धान, अभियोजन र कारबाही प्रक्रियालाई प्रभावकारी बनाइनुपर्नेमा जोड दिँदै अर्थमन्त्री खनालले प्रमाणसहित बलियो मुद्दा तयार गरी तत्काल सम्पत्ति जफत गर्ने व्यवस्था मिलाउनुपर्ने बताए।

प्रकाशित मिति : माघ १४, २०८२ बुधबार  ५ : ०० बजे