माघ १८ गते टिग कन्फेरेन्स आयोजना हुँदै, लेखा र व्यवसायको भविष्यबारे गहन छलफल हुने



काठमाडौं । लेखा तथा व्यवसाय क्षेत्र तीव्र रूपमा डिजिटल रूपान्तरणको चरणमा प्रवेश गरिरहेको सन्दर्भमा साना तथा मझौला व्यवसायबीच लोकप्रिय अकाउन्टिङ सफ्टवेयर टिग (Tigg)ले ‘टिगकन २०२६’ आयोजना गर्ने भएको छ।

आगामी माघ १८ गते (फेब्रुअरी १), आइतबार ललितपुरको कुपण्डोलस्थित होटल हिमालयमा दिउँसो ४ बजेदेखि आयोजना हुने टिगकन २०२६ मा प्रविधि, डेटामा आधारित वित्तीय प्रणाली तथा लेखा फर्महरूको विकसित भूमिकाबारे गहन छलफल हुने आयोजकले जनाएको छ।

लेखा तथा व्यवसायिक इकोसिस्टमका प्रोफेसनल र निर्णयकर्ताहरूलाई एकै स्थानमा ल्याई भविष्यका प्रवृत्ति, चुनौती र अवसरबारे संवाद गर्ने उद्देश्यसहित यो कार्यक्रम आयोजना गर्न लागिएको हो। सम्मेलनले सहभागीहरूलाई लेखा तथा व्यवसाय क्षेत्रको भविष्यबारे रणनीतिक दृष्टिकोण प्रदान गर्नुका साथै डिजिटल युगमा विश्वास, बुद्धिमत्ता र दिगो विकास हासिल गर्न सघाउने टिगका सीईओ रमेश केसीले जानकारी दिए।

कार्यक्रममा सहभागी हुनका लागि नाम दर्ता अनिवार्य गरिएको छ ।

इच्छुकले https://www.tiggapp.com/tigg-con-2026 मार्फत सहभागीताका लागि दर्ता गर्न तथा कार्यक्रमसम्बन्धी थप जानकारी लिन सक्नेछन्।

यस सम्मेलनले परम्परागत प्रक्रियामा केन्द्रित अकाउन्टिङ अभ्यासलाई कसरी डिजिटल उपकरण, डेटामा आधारित प्रणाली र अडिट तथा कर प्रणालीभन्दा बाहिर गएर व्यवसायसँग निरन्तर संलग्न हुँदै दिगो बनाउन सकिन्छ भन्ने विषयलाई स्पष्ट पार्ने सीईओ केसीले जानकारी दिए।

कार्यक्रमको पहिलो सत्रमा ग्लोबल आइएमई बैंकका डेपुटी सिइओ सुमन पोखरेलले डेटामा आधारित ऋण प्रणाली, अभ्यास, विश्वास तथा बैंक र ऋणीबीचको सम्बन्धबारे प्रकाश पार्नेछन्।

दोस्रो सत्रमा अनुभवी चार्टर्ड एकाउन्टेन्ट अरूण राउतले लेखा फर्महरूले अडिट र कर सेवाभन्दा अघि बढेर निरन्तर व्यवसायिक सेवामा कसरी रूपान्तरण हुन सक्छन् भन्ने विषयमा प्रस्तुति दिनेछन्।

अन्तिम अर्थात तेस्रो सत्रमा रारा ल्याब्सका सह–संस्थापक तथा प्रविधि उद्यमी मनोज घिमिरेले एआईमा आधारित प्रणालीहरूले व्यवसायिक कार्यप्रवाह, निर्णय प्रक्रिया तथा स्केलेबिलिटीमा ल्याइरहेको परिवर्तनबारे प्रस्तुति दिनेछन्।

टिगकन २०२६ मा लेखा व्यवसायी, अडिट, कर तथा परामर्श प्रोफेसनल, साना तथा मझौला व्यवसायी, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, वित्तीय प्रमुख तथा वित्तीय प्रणालीसँग सम्बन्धित प्रविधि व्यवसायीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : माघ १४, २०८२ बुधबार  ८ : २६ बजे