काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘एमडीआरटी अचिभर्स अवार्ड २०२६’ समारोह पोखराको पोखरा ग्रान्ड होटलमा भव्य रूपमा सम्पन्न गरेको छ।
मिति २०८२ साल माघ १३ देखि १५ गतेसम्म सञ्चालन भएको उक्त समारोहमा सन् २०२५ को जनवरीदेखि डिसेम्बरसम्मको अवधिमा एमडीआरटी २०२६ का लागि योग्य भएका ११० जना अभिकर्तालाई सम्मान गरिएको थियो।
कार्यक्रममा बोल्दै कार्यक्रमका कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवालले एमडीआरटी जस्तो अन्तर्राष्ट्रिय संस्थाले तोकेको मापदण्ड पूरा गरी क्वालिफाई हुन सफल भई कार्यक्रममा सामेल भएका अभिकर्ताहरुलाई बधाई तथा आगामी दिनका लागि शुभकामना व्यक्त गरे ।
अभिकर्ताहरूलाई अन्तर्राष्ट्रिय स्तरमा गई एक्स्पोजर लिन आग्रह गरे । बीमा क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा भएका असल अभ्यासहरूसँग साक्षात्कार हुन यस किसिमको कार्यक्रमले सहयोग गर्नुका साथसाथै नेपालमा पनि बीमा सम्बन्धी नीति निर्माणमा सहयोग पुर्याउने बताए ।
विश्व अर्थतन्त्रमा देखिएको मन्दीको असर नेपालमा पनि परेको भए तापनि कठिन परिस्थितिमा समेत लक्ष्य हासिल गर्ने अभिकर्ताहरूको उनले मुक्तकण्ठले प्रशंसा गरे। साथै, आर्टिफिसियल इन्टेलिजेन्सको बढ्दो प्रयोगका बाबजुद बीमा अभिकर्ताको पेशा सुरक्षित रहेको उल्लेख गर्दै जीवन बीमाको गरिमा र महत्व आम नागरिकमा फैलाउन आग्रह गरे।
कार्यक्रममा स्वागत मन्तव्य दिँदै प्रमुख कार्यकारी अधिकृत पराजुलीले नेपाल लाइफले बीमा बजारको करिब एक तिहाइ हिस्सा ओगटेको जानकारी गराउँदै अभिकर्ताहरू नै कम्पनीको मेरुदण्ड भएको बताए। उनले अभिकर्ताहरूको चौतर्फी विकासका लागि कम्पनी सधैं प्रतिबद्ध रहेको उल्लेख गरे।
नेसनल सेल्स हेड उमापति पोखरेलले आगामी वर्ष अझ बढी एमडीआरटी अभिकर्तालाई सम्मान गर्ने लक्ष्य रहेको बताउँदै बीमालाई नेपालीको घरदैलोसम्म पुर्याउन सबै अभिकर्ता एकजुट भएर लाग्न आग्रह गरे।
कार्यक्रममा पेशागत बीमा अभिकर्ता महासंघका महासचिव ओम केसी, नेपाल बीमक समिति नेपाल लाइफका अध्यक्ष गणेश अधिकारी तथा अभिकर्ता प्रतिनिधि मुक्तिनाथ काप्रीले समेत मन्तव्य व्यक्त गर्दै नेपाल लाइफको नेतृत्व, सहयोग र उत्प्रेरणाको प्रशंसा गरे।
तीन दिनसम्म चलेको कार्यक्रममा गायक अस्मिता अधिकारी, महेश काफ्ले र बद्री पंगेनीको विशेष सांगीतिक प्रस्तुति रहेको थियो भने कमेडियन सुदीप गौतम र प्रभात लामाले मनोरञ्जन प्रदान गरेका थिए। साथै, मोटिभेसनल स्पिकर सगरिका केसीले अभिकर्ताहरूलाई प्रेरणादायी सम्बोधन गरेका थिए।














