काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले युवाहरूको असन्तोषलाई दमन गरेर नभई उनीहरूको आवाज सम्बोधन गरेर मात्र राष्ट्र अघि बढ्नसक्ने बताएकी छन् ।
७६ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आयोजित विशेष समारोहलाई बिहीवार सम्बोधन गर्दै उनले यस्तो बताएकी हून् ।
उनले मुलुकको शासकीय संयन्त्र र राजनीतिक नेतृत्वको आलोचना गरिन् ।
उनले भनिन्,’हाम्रो लोकतन्त्रको मुख्य चुनौती भ्रष्टाचार, स्रोतमा सीमित वर्गको हालिमुहाली र दण्डहीनता नै हो । ठूलो युवा पङ्क्ति पलायन भएर हाम्रा गाउँहरू खाली हुनुको प्रमुख कारण पनि यही नै हो भन्ने निष्कर्षमा म पुगेकी छु । तर जवाफदेहिताको आवाज बुलन्द गर्ने युवाको पलायनबाट कसैले राहत महसुस नगरे हुन्छ । प्रत्येक शासकले ख्याल राखौँ हाम्रा युवा अभाव सहन तयार छन् तर अन्याय, अपमान, विभेद र तिरस्कार सहन तयार छैनन् । भोलि आउने शासकहरूले युवालाई अपमान र तिरस्कार गरिरहने हो भने फेरि पनि विद्रोह हुनेछ ।’














