ओलीको निर्देशन : हरेक बुथ सुरक्षाका लागि ३० जनाको भोलेन्टियर्स फोर्स बनाउनू



काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हरेक बुथको सुरक्षा लागि कम्तिमा ३० जना भोलेन्टियर फोर्स बनाउन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।

सोमवार झापामा आयोजित पार्टीको कोशी प्रदेश स्तरीय भेलामा बोल्दै उनले आसन्न निर्वाचनलाई ध्यानमा राखेर हरेक बुथको सुरक्षाका लागि पार्टीको तर्फबाट स्वयंसेवक परिचालन गर्नुपर्ने भएकाले त्यसको तयारी गर्न सिंगो पार्टी पंक्तिलाई सचेत गराएका हून् ।

अध्यक्ष ओलीले भने, ‘गाउँगाउँमा, टोलटोलमा सुरक्षा समितिहरु बनाउनुहोस् । र नेशनल भोलेन्टियर्स फोर्स बनाउनका लागि पार्टीलाई सहयोग गर्नुस् । अर्को यो स्थानीय पार्टीले धेरै हस्तक्षेप गरेर चलाउन खोज्ने होइन । आफ्नै ढंगले जनसंगठनलाई चल्न दिनुपर्दछ । तर भोलेन्टियर्स फोर्सले स्थानीय पार्टीका निर्णयहरु, निर्देशनहरुसँग टकराएर काम गर्दैन । चुनावका लागि हरेक बुथमा ३० जना भोलेन्टियर कम्तिमा निर्माण गर्नुहोस् । र त्यस कुरालाई ध्यानमा राखेर अगाडि बढनुहोस् ।’

साथै उनले नेकपा एमाले शान्ति चाहने र पहिले देश चाहने पार्टी भएको बताए । उनले विगतमा भएको हिंसात्मक घटनाको स्मरण गर्दै घर, कार्यालय, संसद भवन र सर्वोच्च अदालत जलेको बताए ।

प्रकाशित मिति : फाल्गुन ११, २०८२ सोमबार  ३ : ४९ बजे