निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल



काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निर्वाचनको पूर्वसन्ध्यामा (बुधवार) आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभरका सबै मतदान केन्द्रहरूमा आवश्यक निर्वाचन सामग्रीहरू पुगिसकेको जानकारी दिएका हून् ।

भण्डारीकाअनुसार फागुन २१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म देशभर मतदान हुनेछ । यसका लागि आवश्यक पर्ने मतपत्र, मतपेटिका लगायतका सम्पूर्ण सामग्रीहरू सम्बन्धित मतदान केन्द्रहरूमा सुरक्षित रूपमा पुर्‍याइसकिएको छ । मतदान केन्द्रहरूको निर्माण तथा व्यवस्थापन कार्य सम्पन्न भइसकेको जानकारी दिँदै कार्यवाहक प्रमुख आयुक्त भण्डारीले मतदान स्थलहरूलाई लैंगिक तथा अपाङ्गमैत्री बनाइएको र सबै मतदाताको सहज पहुँच सुनिश्चित गरिएको बताए ।आयोगले सम्पूर्ण मतदाताहरूलाई यस ऐतिहासिक लोकतान्त्रिक अभ्यासमा उत्साहपूर्वक सहभागी भई आफ्नो मताधिकार प्रयोग गर्न हार्दिक अपिल गरेको छ ।

उनले २०८२ साल भदौ २३ र २४ गतेको आन्दोलनपछि सिर्जना भएको विशिष्ट परिस्थितिमा घोषणा भएको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन आयोग पूर्ण रूपमा क्रियाशील रहेको स्पष्ट पारे ।

प्रकाशित मिति : फाल्गुन २०, २०८२ बुधबार  ३ : ०८ बजे