काठमाडौं । खाडीका देशहरूमा इरानी हमलाका तस्बिर तथा भिडिओ खिचेर सामाजिक सञ्जालमा हाल्नेहरू धमाधम पक्राउ परेका विवरण आएका छन्।
संयुक्त अरब इमिरेट्सको अबु धाबीमा ४५ जना विदेशी समातिएका समाचार आएका छन् भने अन्य खाडी देशहरूले पनि यस मामिलामा कडिकडाउ गरिरहेका छन्।
अमेरिका र इजरेलले इरानमा गरेका हमलापश्चात् इरानले खाडीका देशहरूमा हमला गरिरहेको छ।
इरानको ड्रोन तथा क्षेप्यास्त्र हमलाले युएई, कतार, कुवेत, बाहरेन, साउदी अरेबिया जस्ता लाखौँ नेपालीहरू काम गर्ने देशहरू समेत निसानामा परिरहेका छन्।
शनिवार आएका समाचार विवरणहरूमा अबु धाबीमा ४५ जना विदेशीहरूलाई इरानी ड्रोन हमलाका दृश्य सामाजिक सञ्जालका प्ल्याटफर्ममा शेअर गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ।
ती समाचारमा विदेशीहरू कुन कुन देशका थिए भनेर चाहिँ खुलाइएको छैन। मानिसहरूमा चिन्ता पैदा हुने किसिमका भ्रामक सूचना फैलाएको आरोप तिनलाई लगाइएको सञ्चार माध्यमहरूमा जनाइएको छ।
त्यहाँका अधिकारीहरूले पुष्टि नभएका तथा आधिकारिक स्रोतबाट प्रेषित नगरिएका सूचना तथा सामग्री प्रकाशन नगर्न चेतावनी दिँदै आएका छन्।
दुबई, कतार तथा बाहरेनमा पनि त्यस्तै प्रकारका पक्राउहरू गरिएको जनाइएको छ। पर्यटन तथा विदेशी लगानीमा निर्भर खाडी देशहरूले आफूहरूलाई सुरक्षित तथा विलासी गन्तव्यका रूपमा प्रस्तुत गर्दै आएका छन्।
यूएईको समाचारपत्र खलीज टाइम्सले शनिवार नै प्रकाशित गरेको अर्को एक समाचारमा एक जना नेपाली नागरिक पनि पक्राउ परेको उल्लेख गरेको छ।
अबु धाबीस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख तथा प्रवक्ता रञ्जिता दाहालले हालसम्म आधिकारिक रूपमा नेपाली पक्राउ परेको जानकारी नआएपनि समाचारहरूमा एकजना पक्राउ परेको विवरण आफूहरूले पनि देखेको बताइन्।
हामीले धेरै नै सचेत गराउने काम गरिरहेका छौँ। यहाँका नेपाली समुदायहरूलाई पनि अपुष्ट सामग्री शेअर नगर्न भनेर जानकारी दिइरहेका छौँ। तथापि कतिपय हाम्रा समुदायका सदस्यहरूमा चेतनाको कमी छ अनि फेरि हाम्रा समुदाय सामाजिक सञ्जालमा पनि सक्रिय छन्, दाहालले बताएकी छन्।बीबीसी














