काठमाडौं । प्रतिनिधिसभाको निर्वाचनपछि संघीय संसद्को पहिलो अधिवेशन आज सुरु हुँदैछ ।
मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको पहिलो बैठक आज दिउँसो २ः०० बजे संघीय संसद् भवनको बहूद्देश्यीय कक्षमा बस्ने गरी आह्वान गरेका छन् ।
आजको बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा वाचन गर्नेछन् ।
बैठकमा राष्ट्रपति पौडेलले प्रधानमन्त्रीमा बालेन्द्र शाहलाई नियुक्त गरेको जानकारी सदनलाई गराइनेछ ।
यही चैत १६ गते नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आजका लागि सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका थिए ।सभामुखको अनुपस्थितिमा प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्नका लागि सांसदहरूको मनोनयन गर्नुपर्ने नियमावलीको व्यवस्था रहेको छ । सोहीअनुसार केसीले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्नका लागि सांसदहरूलाई मनोनयन गर्नेछन् ।
प्रतिनिधिसभामा तीन अध्यादेश पेस हुँदै
आजको बैठकमा तीन अध्यादेश पेस हुँदैछन्। बैठकमा गृहमन्त्री सुधन गुरुङले ‘मतदाता नामावली ‘पहिलो संशोधन’ अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन ‘पहिलो संशोधन’ अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा ‘दोस्रो संशोधन’ अध्यादेश २०८२’ पेस गर्ने सम्भावित कार्यसूची तय भएको छ।














