श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन



काठमाडौं। वैदेशिक रोजगार विभागले विभाग आसपास रहेका साइबर सेन्टर र तालिम केन्द्र (इन्स्टिच्युट)बाट ‘श्रम स्वीकृति’ सम्बन्धी भ्रामक सूचना यही चैत ३० गतेभित्र हटाउन निर्देशन दिएको छ।

शुक्रबार एक सूचना जारी गर्दै विभागले कार्यालय वरपरका यस्ता सामग्री हटाउन भनेको हो ।

‘यहाँ श्रम गरिन्छ’, ‘श्रम स्वीकृतिसम्बन्धी कार्य गरिन्छ’, ‘श्रम अनलाइन फारम भरिन्छ’ वा अन्य ‘श्रम’ सम्बन्धी भ्रमपूर्ण सूचानाले वैदेशिक रोजगारीमा जाने सेवाग्राहीलाई भ्रममा पार्ने गरेको भन्दै विभागले ती सूचना तत्काल हटाउन निर्देशन दिएको हो।

यस्ता संस्थाहरूले सेवाग्राहीलाई भ्रममा पारी, अनावश्यक आकर्षण देखाएर रकम असुल गर्ने र बिचौलियाका रूपमा काम गरिरहेको गुनासो र जानकारी प्राप्त भएपछि विभागले ध्यानाकर्षण भएको जनाएको छ।

प्रकाशित मिति : चैत्र २७, २०८२ शुक्रबार  ३ : १५ बजे