काठमाडौँ । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको सिफारिसका लागि समिति गठन गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको अध्यक्ष नियुक्तिको सिफारिसका लागि समिति पनि गठन गरेको हो। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। गुणाकर भट्टको संयोजकत्वमा गठित समितिमा अर्थ सचिव डा। घनश्याम उपाध्याय र भुवनकुमार दाहाल सदस्य रहेको सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिए ।
सञ्चारमन्त्री तिमिल्सिनाका अनुसार सरकारले विभिन्न तीन वटा ऐन संशोधन गर्न बनेका विधेयकहरू संघीय संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकले नेपाल विशेष सेवा ऐन २०४२, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ र मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक संसद्मा पेश गर्न स्वीकृत दिने निर्णय गरेको तिमिल्सिनाले जानकारी दिए ।
तेस्तै मन्त्रिपरिषद् बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा प्युठानका डिल्लीराज आचार्यलाई नियुक्त गरेको छ। समितिको सदस्यहरूमा धादिङका नवराज सिम्खडा र ललितपुरका रोशनबहादुर शाक्यलाई मनोनयन गर्ने निर्णय गरिएको छ।














