गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका छन्। पछिल्लो समय आफू र शेयर लगायतका विषयमा नागरिक स्तरबाट उठेका प्रश्न र विवादकाबीच उनले आजैका मितिदेखि लागू हुने गरी राजीनामा दिएका हुन्।
गुरुङले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो राजीनामा घोषणा गर्दै पदभन्दा नैतिकतालाई प्राथमिकता दिएको बताएका छन्। उनले लेखेका छन्, मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वास भन्दा ठूलो शक्ति कुनै हुँदैन।
देशमा सुशासन र जवाफदेहिताको माग गर्दै भइरहेको युवाहरूको आन्दोलनले आफूलाई प्रभावित पारेको गुरुङले उल्लेख गरेका छन्। राजीनामा पत्रमा उनले भनेका छन्, आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको आन्दोलनले पनि यही सन्देश दिएको छ सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ। उनले ४६ जना शहीदहरूको बलिदानीको आडमा बनेको सरकारले नैतिकताको उच्च उदाहरण पेश गर्नुपर्ने बताएका छन्।
आफूमाथि उठेका प्रश्नहरूको निष्पक्ष छानबिन होस् भन्ने उद्देश्यले पद त्यागेको उनले प्रष्ट पारेका छन्। उनले लेखेका छन्, मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु।














