आज अपराह्नदेखि भोलि बिहानसम्म हावाहुरीको सम्भावना, सतर्कता अपनाउन विभागको आग्रह



काठमाडौं ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज एक विशेष बुलेटिन जारी गर्दै देशका विभिन्न भागमा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना रहेको भन्दै सतर्क रहन अपिल गरेको छ।

महाशाखाले आज अपराह्नदेखि भोलि बिहानसम्म आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको हो।

महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, डडेल्धुरा र डोटीस लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ, अर्घाखाँची र परासीस गण्डकी र बागमती प्रदेशका नवलपुर र चितवनस मधेश प्रदेशका बारा, पर्सा र धनुषा तथा कोशी प्रदेशका झापा र मोरङ लगायत आसपासका जिल्लाहरूमा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना छ।

यो मौसमी प्रणाली बुधबार अपराह्न ४:०० बजेदेखि सुरु भई बिहीबार बिहान ६:४५ बजेसम्म कायम रहने अनुमान गरिएको छ।त्यसैगरी, आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा अधिकांश बादल लाग्ने र तराई भूभागमा साधारणतया बादल लाग्नेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : बैशाख १६, २०८३ बुधबार  १० : २३ बजे