स्थानान्तरण प्रक्रियामा छुटेका भूमिहीन नागरिकहरूलाई सम्पर्कमा आउन सरकारको आह्वान



काठमाडौं । शहरी विकास मन्त्रालयले नदी किनारमा रहेका जोखिमयुक्त बस्तीहरूको स्थानान्तरण प्रक्रियाका क्रममा विभिन्न कारणले छुटेका नागरिकहरूलाई यथाशीघ्र सम्पर्कमा आउन आह्वान गरेको छ।

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सहायता आवश्यक भएका नागरिकहरूका लागि काठमाडौँको दशरथ रंगशालालाई प्राथमिक दर्ता केन्द्रका रूपमा तोकेको छ। हालसम्म दर्ता प्रक्रियामा नआएका र व्यवस्थापनको पर्खाइमा रहेका नागरिकहरूलाई रंगशालामा उपस्थित भई आफ्नो विवरण टिपाउन अनुरोध गरिएको हो।

‘सहायता आवश्यक भएका तथा हाल सडकमा अलमलमा परेका नागरिकहरूलाई प्राथमिक दर्ता केन्द्रका रूपमा तोकिएको दशरथ रंगशालामा उपस्थित भई दर्ता गर्न अनुरोध छ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

वास्तविक भूमिहीन नागरिकहरूको डिजिटल लगत संकलन तथा होल्डिङ सेन्टरमार्फत व्यवस्थापन गर्ने प्रबन्ध सरकारले मिलाएको जनाएको छ।

प्रकाशित मिति : बैशाख २०, २०८३ आईतबार  २ : ०६ बजे