उद्योगी व्यवसायीलाई रविले भने- डर मान्नुपर्दैन, व्यवसाय धराशायी बनाउने मनशाय छैन



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उद्योगी व्यवसायीहरूलाई डर–त्रासमा नपर्न आग्रह गरेका छन् ।

आईतवार निजी क्षेत्रका प्रतिनिधिहरुको भेटमा उनले सरकारको उद्देश्य निजी क्षेत्रलाई हतोत्साही बनाउने नभई नीति सुधार गर्ने रहेको बताएका हून् ।

उनले सरकारको सुशासन अभियानमा साथ दिन उद्योगी व्यवसायीहरुलाई आग्रह गरे । उनले सरकार उद्योगी व्यवसायीहरुसँग सहकार्य गरेर नै अगाडी बढ्न चाहेका बताए । तर अर्थतन्त्रलाई कमजोर बनाउने गतिविधिहरूमा राज्यले कडाइका साथ निगरानी राख्ने उनको भनाई छ ।

उनले भने, ‘तपाईंहरूको मनोबल अलिकति के भएको हो रु कस्तो भएको हो, अलिकति डर त्रास देखिएको भन्ने सुनेको कारणले तपाईंहरूसँग बसेर छलफल गर्न खोजेको हो । तपाईंहरू अलिकति पनि चिन्ता मान्न पर्दैन । यो सुशासनको एजेन्डालाई अलिकति द्रुत गतिमा अगाडि बढाउनका लागि केही प्रश्नहरू तपाईंसम्म आइपुगेछ भने त्यसलाई यहाँहरूले सहज रूपमा लिइदिनुहोला । तर हामी मिलेर नै काम गर्ने हो । सरकारको कुनै व्यवसायीलाई हतोत्साही बनाएर, उसको व्यवसायलाई धराशायी बनाएर जाने कुनै पनि उद्देश्य छैन ।’

विगतमा राजनीतिक अस्थिरता र परिवेशका कारण व्यवसायीहरू विभिन्न शक्तिकेन्द्रको दबाबमा परेका घटनाहरूलाई सरकारले राम्रोसँग बुझेको उनले बताए ।

प्रकाशित मिति : बैशाख २०, २०८३ आईतबार  ३ : २९ बजे